२०८३ असोज ३० , शुक्रबार

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते



सिन्धुली । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन्।

शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टरनजिकै बस दुर्घटनामा परेको हो। बाप्र ०३–००१ ख २७७४ नम्बरको उक्त बस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० विजय श्रेष्ठका अनुसार यात्रुहरूले होटलमा खाना खाएपछि बस अघि बढाउन पछाडि सार्ने क्रममा दुर्घटना भएको हो। बस ब्याक गर्ने क्रममा पछाडिको चक्का नालामा परेपछि अनियन्त्रित भएर सडकबाट तल खसेको उनले जानकारी दिए।

दुर्घटनापछि प्रहरी र स्थानीयवासीको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। उद्धार गरिएका ९ जनालाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पठाइएको छ। बसमा कुल कति यात्रु सवार थिए भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन। घटनास्थलमा अन्य घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार