जनकपुरधाम। नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्।

एमालेका प्रमुख सचेतक हरिनारायण महतोले पार्टीका मन्त्रीहरूले राजीनामा दिएको र सरकारबाट समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्। मधेस प्रदेश सरकारबाट राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन्।
मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्। सरकारमा नेपाली कांग्रेससँगै नेपाली कम्युनिस्ट पार्टी पनि गठबन्धनमा सहभागी छ। एमालेले नयाँ सरकार गठनका लागि राजनीतिक पहल अघि बढाउने उद्देश्यले सरकारबाट समर्थन फिर्ता लिएको जनाएको छ। एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै मधेस प्रदेशको राजनीतिक समीकरणमा फेरबदल आएको छ।








