२०८३ असोज ३० , शुक्रबार

ट्राफिक जाम र साँघुरा गल्लीमा बिरामीको उद्धार गर्न काठमाडौंमा बाइक एम्बुलेन्स सेवा सुरु



काठमाडौं। साँघुरा गल्ली र अत्यधिक ट्राफिक जामका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न ढिलाइ हुने समस्या कम गर्न काठमाडौं महानगरपालिकाले बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सुरु गरिएको जानकारी दिएकी हुन्।

चारपाङ्ग्रे एम्बुलेन्स सहजै पुग्न नसक्ने स्थानमा बाइक एम्बुलेन्समार्फत छिटो उद्धार तथा प्रारम्भिक स्वास्थ्य सहायता उपलब्ध गराउन सकिने अपेक्षा गरिएको छ। काठमाडौंमा एम्बुलेन्सको उपलब्धता भए पनि ट्राफिक जामका कारण समयमै सेवा दिन चुनौती हुने गरेको डंगोलले बताइन्। महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित १३ वटा अस्पताल र स्वास्थ्य संस्थाका प्रतिनिधिसँगको छलफलमा उनले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन्।

‘काठमाडौंमा पर्याप्त एम्बुलेन्स छन्, तर समयमा सेवा दिन सकिएको छैन। ट्राफिक जामका कारण धेरैपटक एम्बुलेन्स समयमै पुग्न सक्दैन,’ उनले भनिन्। महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा निःशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालन गर्दै आएको छ। १०२ नम्बरमा फोन गरेर लिन सकिने उक्त सेवा काठमाडौं महानगरपालिकामा मात्र सीमित नराखी उपत्यकाका अन्य स्थानीय तहमा समेत विस्तार गरिएको डंगोलले बताइन्। बाढीका बेला पनि यस सेवाले उद्धार तथा स्वास्थ्य सहायता छिटो उपलब्ध गराउन सहयोग गरेको उनको भनाइ छ।

महानगरपालिकाले अस्पताल तथा स्वास्थ्य संस्थालाई पूर्वाधार निर्माण, स्वास्थ्य उपकरण खरिद र प्रत्यक्ष उपचार सेवाका लागि आवश्यकताअनुसार अनुदान उपलब्ध गराउँदै आएको छ। अनुदान प्राप्त संस्थाहरूले त्यसको उपयोग, उपचार गरिएका बिरामीको सङ्ख्या र सेवाको प्रभावबारे महानगरपालिकासमक्ष विवरण प्रस्तुत गरेका थिए। डंगोलका अनुसार कीर्तिपुरमा आर्थिक अभावका कारण जलनका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरी आवश्यक बिरामीको उपचार खर्च व्यहोर्ने व्यवस्था गरिएको छ। यसपटक त्यहाँ पूर्वाधार वा उपकरणभन्दा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग केन्द्रित गरिएको उनले बताइन्।

त्यस्तै, कान्ति बाल अस्पतालमा पूर्वाधार निर्माणका लागि सहकार्य भइरहेको, डल्लु क्षेत्रमा पूर्वाधार विकासमा सहयोग गरिएको र मनमोहन अस्पतालको सघन उपचार कक्ष स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको पनि डंगोलले जानकारी दिइन्। महानगरपालिकाले बाइक एम्बुलेन्स सेवासहित स्वास्थ्य संस्थालाई सहयोग गर्ने कार्यक्रममार्फत आपत्कालीन उद्धार र उपचार सेवामा नागरिकको पहुँच सहज बनाउने प्रयास गरिरहेको छ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार