सप्तरी। सर्पले डसेपछि समयमै अस्पताल लैजानुको सट्टा झारफुक गराउँदा सप्तरीमा पाँच वर्षीय बालकको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका–८, कट्टी परवाहा टोलका सुमित मण्डलको मृत्यु भएपछि परिवारसँगै गाउँ नै शोकमा डुबेको छ।

बुधबार दिउँसो घरको आँगनमा खेलिरहेका बेला सुमितलाई विषालु सर्पले डसेको थियो। सर्पले डसेपछि आत्तिएका उनी दौडेर हजुरआमा फूलकुमारीको काखमा पुगेका थिए। केही बेरमै बालक अचेत भए।
तर, तत्काल अस्पताल लैजानुको सट्टा परिवारले गाउँका धामीझाँक्री बोलाएर झारफुक गराउन थाले। झन्डै आधा घण्टासम्म विभिन्न विधिबाट झारफुक गर्दा पनि बालकको अवस्थामा सुधार नआएपछि मात्र उनलाई कल्याणपुरस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो।
त्यहाँ भेन्टिलेटरको सुविधा नभएको र बालकको अवस्था गम्भीर रहेको भन्दै स्वास्थ्यकर्मीले सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएका थिए। त्यसपछि परिवारले सुमितलाई राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्यायो।
त्यहाँबाट पनि अन्यत्र लैजान सल्लाह दिइएपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्दा चिकित्सकले बालकलाई मृत घोषणा गरे।
सुमितका बुवा ओमप्रकाश मण्डल र आमा रेणुदेवी शोकमा छन्। समयमै उपचार सुरु गर्न सकेको भए छोराको ज्यान जोगिन सक्थ्यो कि भन्ने पीडाले परिवारलाई सताइरहेको छ।
गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाका अनुसार बालकलाई अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको थियो। सर्पको विष शरीरभरि फैलिएको अवस्थामा उपचार कठिन हुने उल्लेख गर्दै उनले सर्पदंशको घटनामा झारफुकमा समय खेर नफाली तत्काल अस्पताल पुग्नुपर्ने बताए।
घटनाको अर्को दुःखद पक्ष बालकलाई चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि परिवारले झारफुकमा विश्वास गर्नु हो। अस्पतालमा चिकित्सकले मृत्यु पुष्टि गरेपछि पनि आफन्तले बालकको शव मुख्य प्रवेशद्वारनजिकै राखेर गाउँबाट धामीझाँक्री बोलाएका थिए। त्यहाँ पुनः झारफुक गरिए पनि बालकको शरीरमा कुनै हलचल देखिएन।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले आफन्तलाई सम्झाउँदै अन्धविश्वासमा नपर्न आग्रह गरेपछि उनीहरूले शव लिएर अस्पताल परिसर छाडेका थिए। तर, त्यसपछि पनि उनीहरू झारफुककै आशामा सीमावर्ती भारतीय बजार महादेवमण्ठस्थित एक धामीको घर पुगे।
त्यहाँ पनि विभिन्न विधिबाट झारफुक गर्दा बालक जीवित नभएपछि आफन्त निराश भएर फर्किए। प्रहरीले घटनाबारे चासो देखाएपछि आफन्तले बिहीबार गजेन्द्रनारायण सिंह अस्पतालमा शव पोस्टमार्टमका लागि बुझाएको अस्पताल प्रशासनले जनाएको छ।
सुमितको मृत्युले समाजमा अझै कायम रहेको अन्धविश्वास र स्वास्थ्यसम्बन्धी चेतनाको अभावलाई उजागर गरेको छ। सर्पले डसेपछि तत्काल उपचार गराउनुपर्ने अवस्थामा झारफुकमा समय बिताउँदा बिरामीको ज्यान जोखिममा पर्न सक्छ।
चिकित्सकहरूका अनुसार सर्पदंशको शंका लागेमा झारफुक वा घरेलु उपचारमा अल्झिनुभन्दा सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुर्याउनु आवश्यक हुन्छ। उपचारमा हुने ढिलाइले अवस्था थप गम्भीर बनाउन सक्छ। डा. झाले पनि सुमितलाई सुरुमै अस्पताल पुर्याउन सकेको भए ज्यान जोगिने सम्भावना रहन सक्ने बताएका छन्। यो घटनाले सर्पदंशबारे जनचेतना फैलाउन र अन्धविश्वासका कारण उपचारमा हुने ढिलाइ रोक्नुपर्ने आवश्यकता फेरि देखाएको छ।








