२०८३ असोज ३० , शुक्रबार

सर्लाहीमा भारतीय कार दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते



सर्लाही। सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा बिहीबार दिउँसो भएको दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका–५ निवासी २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार महोत्तरीबाट सदरमुकाम मलंगवातर्फ जाँदै गरेको बीआर ०६ बीएएक्स ०४३५ नम्बरको कार अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा कारमा सवार गौशाला नगरपालिका–४ का शम्भुनाथ कुमार साह र शुभम कुमार शर्मा सामान्य घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना हुनुको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार