२०८३ असोज ३० , शुक्रबार

दुई महिनामै साढे चार खर्ब नजिक रेमिट्यान्स, महँगी ६.३४ प्रतिशत पुग्यो



काठमाडौं। चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा नेपालमा चार खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २३।९ प्रतिशतले बढेको हो।

भदौ महिनामा मात्रै दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह ३३।१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १३।५ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि २७।६ प्रतिशत थियो।

यस अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर चार खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम तीन खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ थियो। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७८ हजार ३२० रहेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ छ।

गत आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ थियो।रेमिट्यान्स आप्रवाह बढिरहेका बेला उपभोक्ता मूल्यवृद्धि पनि उकालो लागेको छ। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६।३४ प्रतिशत पुगेको छ। साउनमा यस्तो मुद्रास्फीति ५।९६ प्रतिशत थियो भने गत आर्थिक वर्षको भदौमा १।८७ प्रतिशत मात्रै थियो।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७।५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५।६९ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १।३४ प्रतिशतले ऋणात्मक थियो भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३।७० प्रतिशत थियो।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २६ अर्ब ४८ करोड रहेको छ। विद्यमान सञ्चितिले १७।८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने जनाइएको छ।

यस अवधिमा चालु खाता एक खर्ब ६९ अर्ब चार करोड रुपैयाँ र शोधनान्तर स्थिति एक खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। निर्यात ६१।९ प्रतिशत र आयात ३१।६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाल सरकारको खर्च एक खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा राजस्व परिचालनबाट एक खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ संकलन भएको छ। विस्तृत मुद्राप्रदाय समीक्षा अवधिमा १।७ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो वृद्धि १४।९ प्रतिशत रहेको छ।

पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०।९ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा १।६ प्रतिशतले वृद्धि भएको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४।४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७।३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २।७५ प्रतिशत र ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर १।३५ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३।११ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६।३८ प्रतिशत कायम भएको छ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार