Category: News

  • कति बाँकी छ ठेक्का तोडिने संकेत पाएको भेरीब–बईको काम ?

    कति बाँकी छ ठेक्का तोडिने संकेत पाएको भेरीब–बईको काम ?

    ठेक्का सम्झौताबमोजिम भएको भए राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणको काम २०८० सालमा सकिईसकेको
    हुन्थ्यो । आयोजनाको सुरुङ निर्माणको काम बाँध निर्माणका लागि सम्झौता हुनअघि नै पूरा भईसकेको थियो । बाँध निर्माणका लागि २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । चार बर्षभित्र काम सक्नेगरि चार रमण कन्स्ट्रक्सनले बाँध र विद्युतगृह निर्माणको ठेक्का लिएको थियो । उक्त ठेक्काअन्तर्गत हेडवक्र्स, सर्ज साफ्ट, पेनस्टक र पावरहाउसको सिभिल वक्र्स निर्माण कार्यको शिलान्यास तत्कालिन उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले २०७६ मंसिर १६ मा गरेका थिए ।


    ठेक्का सम्झौता भए लगत्तै कोराना महामारीका कारण देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको थियो । कोरोनाबाट प्रभावित बनेको भन्दै २०८० मंसिरमा आयोजना निर्माणका लागि कम्पनीलाई एक वर्षको समयसीमा थप गरिएको थियो । यो अवधिमा पनि आयोजनाले पूर्णता नपाएपछि त्यसयता बारम्बार म्याद थप गरी आर्थिक वर्ष २०८४÷०८५ सम्म निर्माण अवधि धकेलिएको छ । सुरुआती चरणमा खरिद प्रक्रियामा ढिलाई, कोभिड, लडकडाउनका कारण प्राविधिक कठिनाई भएको भन्दै समयमा काम गर्न नसकिएको जस्ता कारण सम्बन्धित निकायलाई निर्माण कम्पनीले देखाएको थियो । त्यही आधारमा आयोजनाले समयसीमा थप गरेको थियो ।
    पछिल्लो पटकलाई थपिएको म्यादमा पनि आयोजनाको काम पूरा नहुने संकेत देखिएपछि वर्तमान अन्तरिम सरकारले भेरीबबईको ठेक्का तोड्ने मनसाय अघि बढाएको छ । निर्माण व्यवसायीले अपेक्षित गतिमा काम नगरेको भन्दै वर्तमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ ठेक्का तोड्नुपर्ने अवस्था आएको बताएका छन् । गत मंगलबार मन्त्री घिसिङले मन्त्रालयका सचिव, सिँचाई विभागका महानिर्देशक, भेरी–बबई डाइभर्सन आयोजनाका प्रमुख, निर्माण व्यवसायी र परामर्शदातासँग छलफल गरी ‘ठेक्का तोड्नुको विकल्प’ नरहेको बताएका छन् ।


    आयोजना निर्माणले सन्तोषजनक गति लिन नसकेपछि यस विषयमा चासो लिएका मन्त्री घिसिङले कृषि र बिजुली उत्पादनबाट राष्ट्रिय अर्थतन्त्रलाई उकास्न सघाउ पुग्ने आयोजनामा भइरहेको अस्वभाविक ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका थिए । आयोजनालाई पूर्णता दिन निर्माण व्यवसायीले आनाकानी गरेको अवस्थामा ठेक्कालाई कायम राख्नुको औचित्य नरहेको उनले बताएका थिए । ‘आयोजनाको सुरुङ निर्माण भइसकेको छ, तर बाँध, विद्युतगृह लगायतका संरचना निर्माणमा विलम्ब भइरहेको छ,’ गत मंगलबार भएको छलफलका क्रममा मन्त्री घिसिङले भनेका थिए, ‘निर्माण व्यवसायीले सक्रियता देखाएको भए आयोजना बनिसक्थ्यो, उहाँहरुले काम गर्ने छाँट देखाउनुभएको छैन, यसकारण पनि आयोजनालाई थप अन्यौलतामा रहन दिईनु हुँदैन ।’
    ठेक्का भएको ६ बर्ष वितिसक्दा पनि निर्माण कम्पनीले ६९ प्रतिशत मात्र कार्य पूरा गरेको छ । सम्झौताबमोजिम भौतिक र आर्थिक दुवै प्रगति कमजोर देखिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ । ‘निर्माण व्यवसायीले ठेक्का सम्झौतामा गरेको प्रतिवद्धताअनुसार काम गर्न चासो देखाएको छैन, सम्झौताबमोजिम काम गर्न बारम्बार ताकेता गर्दा पनि अटेर भइरहेको छ,’ आयोजना प्रमुख रणबहादुर बमले भने,’ ‘हालसम्म आयोजनाको समग्र प्रगति ६९ प्रतिशत मात्र पुगेको छ, तर यसैमा निर्माण सम्पन्न भइसकेको सुरुङको प्रगतिसमेत जोडिएको छ ।’ उनका अनुसार निर्माण जिम्मा लिएको रमणसँगको सम्झौता अनुसारको बाँध र विद्युत गृह निर्माणको कामको प्रगति भने ५७ प्रतिशत मात्र रहेको छ । रमणले चीनियाँ निर्माण कम्पनी ग्वाङडोङ युयानटियानसँग मिलेर जोइन्ट भेन्चर (जेभी) मा आयोजनाको काम गरिरहेको छ ।
    ‘पछिल्लो कम्पनीसँगको ठेक्का सम्झौताअनुसार हेडवक्र्स, सर्ज शाफ्ट, पेनस्टक र पावरहाउस अन्तर्गतका सिभिल वक्र्स निर्माणको प्रगति ५७ प्रतिशत मात्रै छ, उनीहरुले तोकिएको समयमा आयोजनालाई पूर्णता दिन्छौं भनेपनि कामलाई गति दिने विषयमा जिम्मेवार भने देखिएका छैनन् ।’ प्रमुख बमले भने ।
    सुरुङ निर्माणको काम चीनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले २०७६ मै सकिसकेको थियो । २०७४ कात्तिक २० गतेदेखि सुरुङको काम सुरु गरेको निर्माण कम्पनीसँग २०७६ चैत १५ सम्म काम सक्ने सम्झौता थियो। तर कम्पनीले एक वर्षअघि नै सरकारलाई सुरुङ हस्तान्तरण गरेको थियो । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबीएम) प्रयोग गरी भेरीबबईको सुरुङ निर्माण गरिएको थियो ।
    आयोजना प्रमुख बमका अनुसार मन्त्रीस्तरिय छलफलबाट अब पनि आयोजनालाई गति दिने विषयमा निर्माण कम्पनी अग्रसर नभए ठेक्का तोड्नेसम्मको विकल्प अघि सारिएको छ । आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० को दफा १३ बमोजिम राष्ट्रिय गौरवका आयोजनाहरुमा लागत अनुमान कम्तीमा ५० अर्ब हुनुपर्ने र दफा १६ मा राष्ट्रिय गौरवका आयोजनाहरु १० वर्षभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, झण्डै १३ वर्षअघिदेखि सुरु भएको यो आयोजनाको सुरुङको ब्रेक–थ्रु पछिका कुनै पनि कामले तिव्रता पाउन सकेका छैनन् ।
    नेपालका हिमाली क्षेत्र स्रोत भएका नदीको पानीलाई मझौला नदीमा स्थानान्तरण गरी बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने उद्देश्यले भेरी–बबई आयोजना अघि बढाईएको थियो । यो आयोजना नेपालका ठूला सिँचाइ परियोजनामध्येको एक हो । उद्देश्यअनुसार यो आयोजना सम्पन्न भए भेरी नदीको पानीलाई १२ किलोमिटर सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ पुग्नेछ । यससँगै ४६ मेगावाट विद्युत पनि उत्पादन गरिनेछ । विद्युत गृह पानी खसालिने बबईतर्फको क्षेत्र हात्तीखालमा निर्माण गरिनेछ ।
    आर्थिक वर्ष २०६८÷०६९ बाट सरकारले भेरी–बबईलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढाइरहेको छ । आयोजनाको फिल्डस्तरमा निर्माणको कार्य भने आर्थिक वर्ष २०७१÷०७२ बाट मात्र सुरु भएको थियो । आयोजनाको कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख रहेको छ । जसमध्ये हालसम्म १८ अर्ब १९ करोड ९७ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।

  • ‘४१ बर्षको कमाइ खरानी बनाइदिए’

    ‘४१ बर्षको कमाइ खरानी बनाइदिए’

    प्रदेश अस्पताल सुर्खेतका पूर्वनिर्देशक डा. डम्बर खड्काले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा आफ्नो घरमा आगजनी तथा लुटपाट हुँदा आफ्नो ४१ वर्षको कमाइ जलेर खरानी भएको बताएका छन् । जेनजी आन्दोलनकारीले गएको भदौ २४ गते नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको घर भन्दै डा. खड्काको घरमा आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए । डा. खड्का नेता पूर्णबहादुरका सहोदर भाइ हुन् ।
    बुधबार आगलागीले खण्डहर भएको निवासमै पत्रकारहरूसँग कुराकानी गर्दै डा. खड्काले आफ्नो पुख्र्यौली घरबाहेक आफ्नोमात्र करिब चार करोड बराबरको क्षति भएको बताए । दुई वर्षअघि प्रदेश आन्दोलनका क्रममा पनि आफ्नो परिवार र आफ्नो घरमा आक्रमण भएको भन्दै डा. खड्काले यसपटक पुनः जेनजी आन्दोलनसँगै रिसइबीले आफ्नो निजी सम्पत्तिमाथि ठूलो क्षति पुगेको बताए ।
    डा. खड्का घर आगलागी हुँदा मानसरोवर कैलाश दर्शनका लागि तिब्बत यात्रामा थिए । उनले आफूले कसैको पाप नगरेको हुनाले नै आज आफू यो स्थानमा पुगेको बताए । यस पटकको कैलाश यात्रामा पनि भगवान् कैलाशले आफूलाई शक्ति प्रदान गरेको उनको भनाइ छ । आफ्नो घर जलेर खरानी हुँदा पनि आफूले हार नखाएको भन्दै उनले भने, ‘मैले कर्णालीभन्दा बाहिर धेरै अवसरहरु त्यागेर यही जन्मभूमिमा बसेर ४१ वर्ष सेवा गरेँ । तर, आज मेरो श्रमको सबैभन्दा ठूलो अपमान भएको छ ।’
    उनका अनुसार, घरमा भएको आक्रमणमा सुनका गरगहना लुटिएको छ । उनको श्रीमतीले सजाएर राखेका सबै सामग्री र छोराले आमाको सम्झनामा किनेको पियानोसमेत जलेर नष्ट भएको छ । ‘मेरी श्रीमती बितेको पीडा अझै सकिएको थिएन, त्यही बेला फेरि अर्को ठूलो पीडा थपियो,’ उनले भने, ‘तर मैले हार खाएको छैन । यही ठाउँमा फेरि नयाँ घर बनाएर बस्ने हो, यस्तो भयो भन्दैमा यहाँबाट बाहिर जाने होइन ।’
    उनले आफ्ना दाइ पूर्णबहादुर खड्कामाथि भ्रष्टाचारको निराधार आरोप लाग्ने गरेको पनि बताए । ‘उहाँले भ्रष्टाचार गरेको भए छानबिन होस्, तर हामीले उहाँ मन्त्री भएको फाइदा लिएका छैनौँ र उहाँ दाइ पूर्णबहादुरजस्तो निष्कलंक नेता नेपालमा कोही भए, देखाए भयो,’ अरुले भनेको आधारमा ऊ नेता भ्रष्टाचारी हो भन्दै सबै नेताहरुलाई एकै तरिकाले हेर्न हुँदैन,’ उनले भने ।
    उनले अगाडि थपे, ‘दाइले राजनीति गरेको यतिका समय भयो, तर, आफ्नो बाससम्म बनाउन सक्नुभएको छैन, उहाँ अहिले मेरो ससुरालीले दिएको घरमा बस्दै आउनुभएको छ, भनेपछि उहाँले भ्रष्टाचार गर्नुभयो होला कि गर्नुभएन होला,’ खड्काले भने, ‘यहाँबाट पनि बुझ्न सकिन्छ, जसले चिकित्सा क्षेत्रबाट र राजनीति क्षेत्रबाट यो गाउँ ठाउँ र प्रदेशका लागि सेवा गरिरहेको छ, उसलाई किन यसरी प्रहार भएको छ ?’
    उनले आफूले कर्णाली प्रदेश अस्पताललाई देशकै अब्बल बनाउन योगदान गरेको तर समाज र राज्यले बेवास्ता गरेको गुनासो गरे । आफ्नो सुरक्षामा समेत आशंका व्यक्त गर्दै डा. खड्काले अब देशको सुरक्षाभन्दा बढी आफ्नै सुरक्षाको जिम्मा आफैँ लिनुपर्ने दिन आएको बताए । उनले सुरक्षाकर्मीको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । उनले यस्ता आक्रमणकारीलाई कुनै हालतमा छाड्न नहुने बताए । ‘हाम्रो घर जलाइयो, सम्पत्ति लुटियो, तर, सुरक्षाकर्मीहरुले हाम्रो रक्षामा उचित भूमिका खेलेनन्,’ डा. खड्काले भने ।
    नेपाली कांग्रेस सुर्खेतका उपसभापति एवं नेपाली कांग्रेस केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काका अर्का भाइ विष्णु खड्काले पनि आफ्नो परिवारमाथि भएको आक्रमणको निष्पक्ष छानविनको माग गरेका छन् । उनले पञ्चायतकालदेखि अहिलेसम्म आफ्नो परिवारले ठूलो भूमिका खेलेको भन्दै पटकपटक आफ्नो परिवारमाथि यसरी आक्रमण हुनु भनेको दुःखद भएको बताए । उनले आफ्नो दाइ पूर्णबहादुर खड्का र आफूहरुले कहीँ कतैबाट केही भ्रष्टाचार गरेको प्रमाणित भए आफूहरु जेल जान तयार रहेको जिकिर गरे । तर आफ्नो दाइ पूर्णबहादुर खड्काले यति लामो राजनीतिक इतिहासमा आफ्नो चढ्ने एक गाडीसमेत किन्न नसकेको बताए । सबै आफूले आफ्नो व्यवसायबाट दाइलाई राजनीति गर्न सहयोग उनको दाबी छ ।

  • राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेको छ । राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्‍यादेश जारी गरेका
    हुन् ।

  • कर्मचारीले नियमित कामको बैठकमा भत्ता नपाउने

    कर्मचारीले नियमित कामको बैठकमा भत्ता नपाउने


    अब सार्वजनिक निकायका पदाधिरकारी र कर्मचारीले नियमित कामको बैठकमा भत्ता नपाउने भएका छन् । यही ५ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
    ‘सार्वजनिक निकायमा पदाधिकारी र कर्मचारीहरूलाई नियमित कामका लागि बैठक भत्ता उपलब्ध नगराउने । तर, कानुनबमोजिम गठन भएको समितिको काममा कार्यालय समयबाहेकको बैठकको भत्ता उपलब्ध गराउन सकिने,’ अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पत्रमा उल्लेख छ ।
    साथै, सरकारी, आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा निजी आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधावापतको रकम लिन नपाउने भएका छन् ।

  • प्रसिद्ध क्रिकेट अम्पायर डिकी बर्डको ९२ वर्षमा निधन

    प्रसिद्ध क्रिकेट अम्पायर डिकी बर्डको ९२ वर्षमा निधन


    इंग्ल्याण्डको योर्कशायर कन्ट्री क्रिकेट क्लब (सिसिसि) ले क्रिकेटका प्रसिद्ध पूर्वअम्पायर हेरोल्ड डिकी बर्डको ९२ वर्षको उमेरमा निधन भएको घोषणा गरेको छ।
    सिसिसिले मंगलबार बर्डको निधन भएको जनाएको हो। बर्डले सन् १९७३ मा अम्पायरिङ सुरु गरेका थिए। उनले ६६ टेस्ट म्याच, ६९ पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय र तीन विश्वकप फाइनलमा अम्पायरिङ गरेका थिए।
    क्लबका अनुसार ‘बर्डले इतिहासमा आफ्नो नाम सबैभन्दा प्रसिद्ध र लोकप्रिय अधिकारीको रूपमा लेखाए, उनले अन्तर्राष्ट्रिय अम्पायरको रूपमा उत्कृष्ट करियरको आनन्द उठाएका छन्।’ उनी सन् २०१४ मा योर्कशायरको अध्यक्ष बनेका थिए। सन् १९७० मा अंग्रेजी कन्ट्री खेलमा पहिलो पटक उभिएर उनी विश्वकै प्रसिद्ध अम्पायर बने। त्यसपछि सन् १९७५ मा, बर्डले पहिलो पुरुष क्रिकेट विश्वकप फाइनलको जिम्मेवारी सम्हालेका थिए। बर्डलाई उनको अन्तिम टेस्टअघि इंग्ल्याण्ड र भारतका खेलाडीहरूले लड्र्स क्रिकेट मैदानमा गार्ड अफ अनर दिएका थिए।

  • राष्ट्रपति पौडेललाई भेटेर फर्किन् प्रधानमन्त्री कार्की

    राष्ट्रपति पौडेललाई भेटेर फर्किन् प्रधानमन्त्री कार्की


    राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । शितल निवासमा राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्की बाहिरिएकी छिन् ।
    ‘प्रधानमन्त्री आउनु भएको थियो । राष्ट्रपतिसँग छलफल गरेर निस्कनु भयो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने । भेटमा समसामयिक राजनीति, २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

  • यस्तो छ जेन–जी आन्दोलनमा भएको सरकारी कार्यालयको क्षति अनुमान

    यस्तो छ जेन–जी आन्दोलनमा भएको सरकारी कार्यालयको क्षति अनुमान

    जेन–जी समूहले गरेको आन्दोलनका क्रममा गत भदौ २४ गते सुर्खेतका कार्यालयहरुमा भएको क्षतिको अनुमानित मूल्य निकालिएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा वीरेन्द्रनगरमा भएका केही सरकारी कार्यालयमा भएको क्षतिको अनुमानित मूल्य निकालेर जिल्ला प्रशासनलाई बुझाईएको छ । सम्बन्धित कार्यालय प्रमुखहरुले प्रहरीको रोहबरमा क्षतिको अनुमानित मूल्य निकालेका हुन् । हाल (मंगलबार) सम्म २४ वटा कार्यालयहरुको क्षतिको मूल्याङ्कन गरिएको छ । संघअन्तर्गतका ६, प्रदेशका ५, स्थानीय तहका ११ वटा (वीरेन्द्रनगर नगरपालिकाको कार्यालय र १२ वटा वडा कार्यालय) कार्यालयले क्षतिको मूल्याङ्कन बुझाएका हुन् ।


    जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार ६ वटा संघीय कार्यालय र ५ वटा प्रदेश कार्यालयहरुबा क्षतिको मूल्याङ्कन गरी प्रशासनलाई पठाईएको हो । प्रशासनले नियमित क्षतिको मूल्याङ्कन प्रतिवेदन सङ्कलन गरिरहेको छ । संघअन्तर्गतका जिल्ला समन्वय समिति, सडक डिभिजन, भेरै करिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजना, नापी, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र उच्च सरकारी वकिल कार्यालयले आफ्नो कार्यालयमा आन्दोलनका बेला भएको क्षतिको मूल्याङ्कन गरी पठाएका छन् ।
    यी कार्यालयले पठाएको मूल्याङ्कन अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा भवन, फर्निचर, कम्प्यूटर लगायतका सामान क्षति भएका छन् । यसबाट ४० लाख ३ हजार बराबरको क्षति भएको समन्वय समितिको कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालयको २० लाख ४ हजार बराबरको एउटा सवारी साधनमा क्षति पुगेको छ । भेरी करिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालयको टाटा सफारी गाडीमा ६० हजार रुपैयाँको क्षति भएको छ ।
    नापी कार्यालय सुर्खेतमा भवन तथा कोठा, फर्निचर, कम्प्यूटर र सवारी साधनमा २ करोड ६३ लाख ६० हजार ९९० रुपैयाँ बराबरको क्षति भएको छ । यो कार्यालयका क्षति भएका सवारी साधनहरुको मूल्य भने खुलेको छैन । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयमा ४ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने उच्च सरकारी कार्यालयको क्षतिको यकिन मूल्ययाङ्कन रकम खुलेको छैन ।
    प्रदेशतर्फका सामाजिक विकास मन्त्रालयमा ३ लाख ५९ हजार ९०० रुपैयाँ बराबरको क्षति मोटरसाईकल जलेको छ । मुख्य न्यायाधिवक्ता कार्यालयको सवारी साधन र भौतिक संरचनामा एक करोड १४ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयमा एक करोड ३२ लाख १६ हजार ६१ रुपैयाँ ८७ पैसा बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा १ करोड ७९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कर्णाली प्रदेश सभा सचिवालयमा भौतिक संरचना, फर्निचर, विद्युतीय सामग्री, सवारी साधान लगायतको क्षति हुँदा ३ करोड ९४ लाख १६ हजार ३९४ रुपैयाँ क्षति मूल्याङ्कन गरिएको छ ।
    यस्तै स्थानीय तहअन्तर्गतका वीरेन्द्रनगर नगरपालिकामा २ करोड ४६ लाख ३९ हजार बराबरको क्षति भएको छ । यसभित्र सुर्खेत सिटी हलको पनि क्षति समावेश गरिएको छ । वीरेन्द्रनगरका वडा नम्बर १ को कार्यालयमा २५ लाख, वडा नम्बर २ को कार्यालयमा ३९ लाख ६० हजार ५००, वडा नम्बर ३ को कार्यालयमा १ करोड ६४ लाख, वडा नम्बर ४ कार्यालयमा ८५ लाख ३५ हजार, वडा नम्बर ५ कार्यालयमा ४६ लाख ७५ हजार, वडा नम्बर ६ कार्यालयमा १ करोड ३७ लाख ७४ हजार, वडा नम्बर ७ को कार्यालयमा १८ लाख ९६ हजार रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ ।
    वडा नम्बर ८ कार्यालय मा १ कोड ४८ लाख ५ हजार, वडा नम्बर ९ को कार्यालयमा ३९ लाख ६० हजार १ सय, वडा नम्बर १० को कार्यालयमा ३५ लाख २५ हजार ९ सय, वडा नम्बर ११ को कार्यालयमा ४१ लाख ४३ हजार ४ सय, वडा नम्बर १२ को कार्यालयमा ६१ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ ।
    मंगलबारसम्म मूल्याङ्कन गरिएको भएको वीरेन्द्रनगरस्थित कार्यालयको कुल क्षति २१ करोड १० लाख ५६ हजार ७४६ रुपैयाँ ३५ पैसा बराबरको छ । योमध्ये वीरेन्द्रनगर नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुको क्षति १० करोड ९० लाख ८७ हजार ४ सय रुपैयाँ क्षति मूल्याङ्कन भएको छ । संघ र प्रदेश तहका कार्यालयको मंगलबारसम्मको क्षतिको मूल्याङ्कन १० करोड १९ लाख ६९ हजार ३४६ रुपैयाँ ३५ पैसा रहेको छ ।

    जलेकै वडा कार्यालयबाट सेवा दिनुस् मुख्यमन्त्री


    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनपछि वडा कार्यालय आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाध्यक्षहरुसँग छलफल गरेका छन् । आन्दोलनमा नगरपालिकाका १ देखि १२ वडासम्मका कार्यालयहरु आगजनी र तोडफोड गरिएपछि ती वडाहरुले हाल जिल्ला समन्वय समितिको हलबाट सेवा दिइरहेका छन् ।
    मुख्यमन्त्री कँडेल मंगलबार जिल्ला समन्वय समितिको हलमै पुगेर सेवाग्राही र वडाध्यक्षहरुसँग स्थलगत अवलोकन तथा छलफल गरेका थिए । मुख्यमन्त्री कँडेलले पछिल्लो अवस्था सामान्य भइसकेकाले वडा कार्यालयबाटै सेवा दिन सुझाव दिएका छन् । ‘अवस्था सुधार भईसकेको छ, जलेकै कार्यालयबाट एक थान कम्प्युटर राखेर सेवा प्रवाह गर्न सकिन्छ, सोहीअनुसार गर्नुस् ।’ कँडेलले भने ।
    भौतिक संरचनामा नोक्सानी भएपनि वडाबाटै सेवा प्रवाह गर्दा राम्रो सन्देश जाने उनले बताए । ‘सबै वडाका कार्यालय एकै ठाउँमा राख्दा नागरिकलाई सेवा प्राप्त गर्न झन्झटिलो हुन्छ, जति सक्यो छिट्टै वडामै फर्केर सेवा दिनुहोस ।’ कँडेलले भने ।

  • तीन सचिवको सरूवा, रक्षाका दंगाललाई गृहमा ल्याइयो

    तीन सचिवको सरूवा, रक्षाका दंगाललाई गृहमा ल्याइयो

    तीनजना सचिवहरूको सरूवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीनजना सचिवको सरुवा गरेको हो ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको छ । उता रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवमा ल्याइएको छ । योजना आयोगका सचिव सुमनराज अर्याललाई सरकारले रक्षा मन्त्रालयमा सचिव बनाइएको छ ।
    दुवाडी तत्कालीन गृहमन्त्री रमेश लेखकका पालामा राष्ट्रिय तथ्यांक कार्यालय आएका थिए । आगामी मंसिर महिानामा अनिवार्य अवकाशमा जानेछन् ।

  • बालक अपहरणपछि हत्या : ८ जना पक्राउ

    बालक अपहरणपछि हत्या : ८ जना पक्राउ

    सिराहामा बालकको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । सिराहा प्रहरीका अनुसार हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अनुसन्धानकै क्रममा रहेकोले प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको अवस्थामा मंगलवार बिहान शव फेला परेको थियो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको
    हो ।
    परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् । सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका
    थिए ।

  • ‘व्यवसायीलाई सरकारले ढुक्क बनाउन सक्नुपर्छ’

    ‘व्यवसायीलाई सरकारले ढुक्क बनाउन सक्नुपर्छ’


    नेपाल चेम्र्बस अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै मल्लले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको धारणा राखेका हुन् । ‘अहिलेको अवस्थामा सरकारले व्यवसायीहरूलाई डराउनुपर्दैन भन्ने खालको सुरक्षा प्रत्याभूति दिलाउनुपर्नेछ,’ मल्लले भने । जेनजी आन्दोलनपछि ती युवाहरूलाई स्वदेशमै काम गर्ने वातावरण अघि बढाउनुपर्ने उनको भनाइ छ ।
    ‘देशमा शान्ति व्यवस्था छ । डराउनु पर्दैन भनेर सरकारले भन्न सक्नुपर्छ, जेनजी अवस्थाका युवाहरू स्वदेशमा कम नभएर विदेश जाने गरेका छन् । हाम्रो युवालाई स्वदेशमै राखेर पठनपाठनको व्यवस्था गर्नु पन्ने,’ उनले भने । निवर्तमान अध्यक्ष मल्ले वार्षिक ३ लाख जनसंख्या घट्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै सरकारले अब गर्नै पर्ने कामका रूपमा स्टार्टअपलाई अगाडि बढाउनु पर्ने धारणा राखे । ‘अहिले सरकारी अफिसमा ढिलासुस्ती र झन्झटिलो प्रक्रिया रहेको बताउँदै अब यसलाई सुधार गर्न आवश्यक रहेको सुनाए । उनले अहिले आइटी र एआईको प्रचुर सम्भावना रहेको बताउँदै हामीले गाउँको दूर दराजमा आइटी कार्यक्रम चलाउन सकेमा प्रभावकारी हुने बताए ।
    उनले पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ह्रास आएको उल्लेख गर्दै सरकारले तत्कालै नेपाल सुरक्षित छ भनेर विश्वव्यापाी प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘सबैभन्दा ठुलो समस्या भनेको औपचारिकभन्दा अनौपचारिक कारोबार चलिरहेको छ । सानो करको दायरामा राखेर अघि बढ्नुपर्छ । हामीसँग खर्बौं रेमिट्यान्स भित्रिएको छ । अनावश्यक रूपमा खर्च भइरहेको छ । यसको सदुपयोग गर्नुपर्छ,’ उनले भने । उनले निजी क्षेत्रको धनजनको क्षति हुँदा देश ५–६ वर्ष पछाडि धकेलिएको बताए ।