दोलखा। दोलखाको पर्यटकीय क्षेत्र शैलुङ भ्रमणमा आएका सिंगापुरका ६५ वर्षीय पर्यटक प्यान्ली हन्ट जेरेमियाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गत कात्तिक १३ गते शैलुङ भ्रमणमा पुगेका जेरेमिया सोही राति होटलमा सुतेकै अवस्थामा अचानक बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि स्थानीय देउराली मेडिकलमा लगिएको थियो।
त्यहाँबाट थप उपचारका लागि धुलिखेल लैजाने क्रममा कात्तिक १४ गते शनिबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ। जेरेमिया आफ्नी श्रीमती र साथी भोलानाथ न्यौपानेसँग शैलुङ घुम्न आएका थिए। उनीहरू कात्तिक १३ गते ढुङ्गेस्थित एक होटलमा बसेका थिए।
गत असोज ३० गते नेपाल आएका जेरेमिया दम्पतीले इलाम, फिक्कल, नवलपुरलगायत विभिन्न स्थानको भ्रमण गरेका थिए। भ्रमणकै क्रममा उनीहरू कात्तिक १३ गते शैलुङ पुगेका थिए। मृतकको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। पोस्टमार्टम प्रक्रिया पूरा भएपछि शव उनकी श्रीमतीलाई बुझाइनेछ।
मृतकका आफन्त सिंगापुरबाट नेपाल आउन लागेका छन्। आफन्त नेपाल आएपछि जेरेमियाको शव अन्तिम संस्कारका लागि सिंगापुर लगिने बताइएको छ।








