२०८३ कात्तिक १६ , सोमबार

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार



सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।

गत १४ कात्तिकदेखि हिमपातका कारण सम्पर्कविहीन भएका दुई महिला र चार पुरुष गरी ६ जना पर्यटकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। सोमबार बिहान साढे ६ बजे घटनास्थलतर्फ उडेको हेलिकप्टरले सुरुमा दुई महिलाको उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको थियो। त्यसपछि बाँकी चार पुरुषको उद्धारका लागि हेलिकप्टर पुनः घटनास्थल पुगेको थियो।

उनीहरूलाई पनि सकुशल उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उद्धार गरिएका सबै पर्यटकको स्वास्थ्य अवस्था सामान्य रहेको छ। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले ६ जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको जानकारी दिइन्।

प्रशासनका अनुसार आवश्यक प्रशासनिक अनुमति नलिई डोल्पोबुद्धको धोबाट फोक्सुण्डो तालतर्फ फर्कने क्रममा उनीहरू नुमला र वाग्ला पास क्षेत्रमा भारी हिमपातका कारण फसेका थिए। समयमै उद्धार टोली परिचालन गरिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते सोमबार