काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १३५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहिलो त्रैमासिक प्रगति विवरणअनुसार गत साउन १ देखि असोज मसान्तसम्म उक्त संख्यामा लालपुर्जा वितरण गरिएको हो । भूमि समस्या समाधान समिति, ताहाचलले वितरण गरेका १३५ लालपुर्जामध्ये ११ वटा भूमिहीन दलित, ४१ वटा भूमिहीन सुकुम्बासी र ८३ वटा अव्यवस्थित बसोबासी परिवारका नाममा रहेका छन् । मन्त्रालयका अनुसार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न लगत सङ्कलन, विवरण प्रमाणीकरण र जग्गाको नापजाँच कार्यलाई अघि बढाइएको छ ।
यस अवधिमा समितिको सूचना प्रणालीमा कुल ५१ हजार ५१७ वटा निवेदन प्रविष्ट भएका छन् । तीमध्ये भूमिहीन दलितका ७ हजार ७०, भूमिहीन सुकुम्बासीका ८ हजार ८३ र अव्यवस्थित बसोबासीका ३१ हजार ३१७ निवेदन रहेका छन् । त्यस्तै, विगतका आयोगबाट अधुरा रहेका काम पूरा गर्ने उद्देश्यले थप ५ हजार १२७ वटा निवेदन दर्ता गरिएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
जग्गा पहिचान तथा वितरण प्रक्रियालाई प्रभावकारी बनाउन समितिले पहिलो त्रैमासिकमा देशका विभिन्न स्थानमा १ हजार ९४७ कित्ता जग्गाको नापजाँच तथा नक्साङ्कन सम्पन्न गरेको छ । यसैगरी, काठमाडौं उपत्यकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने प्रयासस्वरूप समितिले भक्तपुर नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
समझदारीअनुसार भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरण तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धी काम अघि बढाइनेछ । सम्झौतापछि वास्तविक विवरण सङ्कलनका लागि औपचारिक सूचना पनि प्रकाशित भइसकेको मन्त्रालयले जनाएको छ । सरकारले जग्गाविहीन परिवारको पहिचान, प्रमाणीकरण र नापजाँचको कामलाई निरन्तरता दिँदै आगामी दिनमा लालपुर्जा वितरण प्रक्रियालाई थप अघि बढाउने लक्ष्य राखेको छ ।








