काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारको प्रवृत्ति सीमा नाघ्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।
विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर सञ्चारकर्मी पक्राउ तथा पक्राउ गर्ने तयारीका विषयमा जानकारी लिएका थापाले प्रमुख प्रतिपक्षी दलका तर्फबाट सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले पछिल्लो समय सरकारका गतिविधि चिन्ताजनक देखिएको उल्लेख गर्दै राज्यका निकायलाई सरकारको आदेश पालना गर्ने संस्थाका रूपमा बुझ्ने प्रवृत्ति देखिएको बताए।
‘अहिले सरकारको कामकारबाही चिन्तित भएर हेर्नुपर्ने विषय भएको छ। सरकारको प्रवृत्ति नै चिन्ता पैदा गर्ने खालको छ,’ थापाले भने।सरकारले आफूलाई नै राज्य ठान्ने र आफ्ना निर्णयलाई अन्तिम आदेशका रूपमा प्रस्तुत गर्ने शैली अपनाएको उनको आरोप छ। ‘हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो,’ उनले भने।
थापाले सरकारबाट शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको दाबीसमेत गरे। उनका अनुसार कानुन र संस्थागत प्रक्रियाभन्दा व्यक्तिको इच्छालाई प्राथमिकता दिने प्रवृत्ति देखिएको छ। ‘शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ। मेरो इच्छा नै कानुन हो भन्ने भयो, अहिले भएकै त्यही हो। प्रवृत्तिले हद नाघेको छ,’ थापाले टिप्पणी गरे।
सरकारको पछिल्लो कार्यशैली र सञ्चारकर्मीमाथि भइरहेका कारबाहीका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दलका सभापतिले सार्वजनिक रूपमा प्रश्न उठाएका हुन्।








