काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लाका समस्या समाधान तथा समग्र विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँगको अन्तक्र्रिया कार्यक्रममा सहभागीका गुनासा र सुझाव सुनेपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गरे। जिल्लावासीका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिएर काम गर्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागीहरूले जिल्लाको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, कृषि उत्पादनको बजारीकरण तथा उद्योग–व्यवसाय सञ्चालनमा देखिएका चुनौतीबारे ध्यानाकर्षण गराएका थिए। गोरखा पूर्वाधार विकासमा पछाडि परेको र पर्यटकीय सम्भावना हुँदाहुँदै पनि पर्याप्त प्रवद्र्धन हुन नसकेको उनीहरूको गुनासो थियो। जिल्लाको विकासलाई गति दिन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने मागसमेत गरिएको थियो।
त्यस्तै, कृषि उत्पादनले उचित बजार र मूल्य नपाउँदा किसान समस्यामा परेको भन्दै स्थानीय उत्पादनलाई बजारमा प्राथमिकता दिन र किसानलाई उचित मूल्य सुनिश्चित गर्न सरकारले ठोस पहल गर्नुपर्ने सहभागीहरूको जोड थियो। उद्योगी तथा व्यवसायीहरूले व्यावसायिक वातावरण सुधार, आर्थिक गतिविधि विस्तार र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न राज्यको प्रभावकारी भूमिका आवश्यक रहेको बताएका थिए।








