२०८३ कात्तिक १५ , आइतबार

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध ८ उजुरी



 काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा आठ वटा उजुरी परेका छन् ।

गत कात्तिक ९ गते समितिले प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी आह्वान गरेको थियो । सोही क्रममा गत शुक्रबारसम्म आठ वटा उजुरी दर्ता भएका हुन् । समितिले उजुरी दिनका लागि कात्तिक १९ गतेसम्मको समय निर्धारण गरेको छ । तोकिएको समय बाँकी रहेकाले उजुरीको संख्या अझै बढ्न सक्ने देखिएको छ ।

गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।

पाण्डे उच्च अदालत पाटनको हेटौंडा इजलासमा कार्यरत छन् भने सारू उच्च अदालत पाटनमा कार्यरत छन् । त्यस्तै, डाँगी यसअघि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत थिए ।

प्रस्तावित न्यायाधीशहरूविरुद्ध परेका उजुरीहरूको अध्ययनपछि संसदीय सुनुवाइ समितिले चारै जनासँग उनीहरूको भावी कार्ययोजना र न्यायिक दृष्टिकोणबारे छलफल गर्नेछ । समितिबाट संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी अनुमोदन भएपछि मात्रै उनीहरू सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेछन्

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते आइतबार