राजदेवी मन्दिरको कथा: बुद्ध जयन्तीकै दिन नै किन बली ?

बिहीबार वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्तीको दिनलाई अहिंसाको दिनको रुपमा मनाइन्छ। तर, लहान नगरपालिका-१५ ढोढनास्थित देवी थान (राजदेवी पञ्चावत्ती मन्दिर) मा भने बिहानै देखि बली चढाउन श्रद्धालु भक्तजनहरुको भिड लागेको छ।

मनोकाङ्क्षा पूरा भएपछि भाकल गरे अनुसारको बोका, पाठी, परेवा, कुखुरा, हाँस चढाउनेको भिड लागेको हो। मन्दिर समितिका अध्यक्ष संयोजक वीरेन्द्र चौधरीले यस वर्ष २० देखि २५ हजार भन्दा बोका र पाठी बढी चढाइने अनुमान गरे।

मेला समितिमा शुल्क तिरेर बली चढाउनेको संख्या २० हजार नाघ्नेको उनले सुनाए। भिडका कारण मन्दिरमा प्रवेश गर्न नसकेका कतिपय भक्तजनले मन्दिर बाहिर नै बली दिएका छन्।

‘परेवा, कुखुरा, हाँसको बलीको गिन्ती नै छैन यहाँ। १० हजार बढी परेवा त भक्तजनहरुले मन्दिरमा आएर उडाउँछन्।’ उनले भने ‘यस वर्ष राजदेवी माताको लागि दिइने बली गत वर्षको तुलनामा बढेको छ।’

पूर्वपश्चिम राजमार्गस्थित लहान बजारदेखि ८ किलोमिटर उत्तर चुरेको फेदमा रहेको राजदेवी मन्दिरमा भाकल गरे सन्तान प्राप्ति, दिर्घरोगीलाई निको हुने, रोगब्याधी नलाग्ने तथा कुनैपनि मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ।

भाकल गर्नेहरुको मनोकाङ्क्षा पूरा हुने गरेकोले नै बर्षेनी भक्तजनको संख्यामा वृद्धि हुँदै गएको लहान नगरपालिका वडा नम्बर-१५ का अध्यक्ष तेजनारायण चौधरीले बताए। नेपालका विभिन्न जिल्ला, भारत, तथा तेस्रो मुलुकबाट प्रवासी नेपाली भक्तजनहरुसमेत मेला हेर्न आउन थालेको उनले सुनाए।

राजदेवी मन्दिर १ बिघा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा जङ्गलको बीचमा अवस्थित छ। यो मन्दिरमा मूर्ति (राजदेवीको प्रतिमा) छैन। बाराको गढीमाई मन्दिरपछि दोस्रो ठूलो संख्यामा पशुपक्षीको बली दिइने मन्दिरको रुपमा राजदेवी लाई चिनिन्छ।

वैशाख शुक्ल पूर्णिमाको दिन हजारौं पशुपक्षीको बली चढाउँदा मन्दिर परिसर र मन्दिर क्षेत्र बाहिर जताततै रक्तामय देखिन्छ। स्थानीयका अनुसार राजदेवी माताको शक्तिले चारैतिर रहेको रगतमा न त झिँगा बसेको देखिन्छ न त दुर्गन्धित नै हुन्छ।

मेला व्यवस्थापन समितिले मेला व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीकर्मीहरू समेत व्यवस्थापनका लागि खटिएका छन्। लहान बजारदेखि मन्दिरसम्म बिहीबार बिहान ३ बजेदेखि नै भक्तजनहरू जानेआउनेको उल्लेख्य भिड छ।

वैशाख शुक्ल पूर्णिमाको दिन नै बली किन ?

करिब १ सय २५ वर्ष अघिको कुरा हो। मन्दिर रहेको ठाउँमा जागल र चरण क्षेत्र थियो। यहाँ स्थानीयवासी गाई चराउन जान्थे। मन्दिरका पुजारी शालिग्राम भट्टले, ‘चराउन लगेका गाईहरू अचानक हराउन थालेपछि गाउँलेले स्थानीय धामी स्वर्गीय दिलाराम भट्टलाई समस्या सुनाएका थिए। धामी दिलारामले त्यस ठाउँमा पुगेर तन्त्र साधना गरेपछि राति सपनामा उनलाई देवीले दर्शन दिएको र देवीले धामी लाई शुक्ल पूर्णिमाको दिन बली चढाए समस्या टर्ने बताए अनुसार बली प्रथा सुरु भएको किंवदन्ती छ।

एक दशक अघिसम्म यो मन्दिर र राजदेवी माताको शक्तिबारे प्रचारप्रसार भएको थिएन। अहिले मन्दिरले चर्चा पाएपछि भाकल गर्ने, बली चढाउने र शुक्ल पूर्णिमाको दिन लाग्न मेलामा पूजापाठ गर्न आउनेको संख्यामा बर्षेनी वृद्धि हुँदै गएको पुजारी भट्टले भने।

उनले मन्दिर परिसरमा कालो बिरालो, नथिया लगाएको नाग सर्प देखिने गरेको बताए। ‘पछिल्लो समय राजदेवी मन्दिरमा शनिबारका दिन पनि सैयौं श्रद्धालु पूजा गर्न आउन थालेका छन्,’ लहानकी सुनिता यादवले भनिन्,‘यस मन्दिरमा भाकल पूरा हुने भएपछि श्रद्धालुको श्रद्धा बढेर व्यापकता पाउन थालेको छ।’

मेलाका दिन प्रत्येक वर्ष श्रद्धालुले एउटै समयस्या भोग्नु पर्छ त्यो हो अव्यवस्था। भीडलाई व्यवस्थित गर्न नसक्दा आउजाउमा समेत कठिनाइ भएको उनले सुनाइन्। यसपालि मन्दिरसम्म पुग्ने बाटो तुलनात्मक रुपमा व्यवस्थित देखिए पनि मन्दिर क्षेत्र अव्यवस्थित देखिएको उनले बताइन्।

थारु समुदायको बाहुल्य रहेको ढोडना गाउँको बीचमा यो मन्दिर अवस्थित छ। पूर्णिमाका दिन लाग्ने मेला भर्न वर्षैपिच्छे श्रद्धालुहरुको संख्या बढ्दै गएको वडाका अध्यक्ष चौधरीले बताए।

स्थानीय बुढापाकाका अनुसार मन्दिर अढाई शताब्दीदेखि नै अस्तित्वमा रहे पनि विशेष पूजा अर्चना र पशुपक्षीको बलि भने ०५० पछि मात्र सुरु भएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *