२०८३ मंसिर ४ , शुक्रबार

सुर्खेत कारागारमा १९ वर्षीया युवती मृत फेला



सुर्खेत ।  सुर्खेत कारागारमा एक १९ वर्षीया युवती मृत फेला परेकी छन्। दैलेखको गुराँस गाउँपालिका–४ घर भएकी संगीता शाही बिहीबार राति करिब १२ बजे कारागारभित्र मृत अवस्थामा फेला परेकी हुन्।

सुर्खेत कारागारको ५ नम्बर कोठामा रहेकी शाही कारागारभित्रकै शौचालयमा तन्नाको पासो लगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। मृतकका आफन्त आउने क्रम जारी रहेको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

शाही गत असोजमा वीरेन्द्रनगर नगरपालिका–९ का २५ वर्षीय विशाल रावलको मृत्यु प्रकरणमा पक्राउ परेकी थिइन्। उनीमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलिरहेको थियो।

प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार