२०८३ मंसिर ४ , शुक्रबार

पश्चिम सुर्खेतको लगाम–धामिसेन सडक कालोपत्रे गर्न १ अर्ब ३० करोडको ठेक्का



सुर्खेत। पश्चिम सुर्खेतको बड्डीचौर–गुटु–लगाम हुँदै कर्णाली जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रेको प्रक्रिया अघि बढेको छ। मदन भण्डारी राजमार्गअन्तर्गत लगामदेखि धामिसेनसम्मको १६.५२ किलोमिटर सडक कालोपत्रे गर्न एक अर्ब ३० करोड ८८ लाख रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढाइएको हो।

सडक विभागअन्तर्गत मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले कात्तिक २८ गते सार्वजनिक गरेको आशयपत्रअनुसार उक्त सडक निर्माणका लागि महालक्ष्मी–ब्राइट मल्टी जेभी, काभ्रे छनोट भएको छ। निर्माण कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) तथा मूल्य समायोजनसहित एक अर्ब ३० करोड ८८ लाख ७९ हजार ९९५ रुपैयाँ १९ पैसा कबोल गरेको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) तथा बोलपत्रसम्बन्धी व्यवस्थाअनुसार जारी गरिएको आशयपत्रमा बोलपत्रदातामध्ये औसत कबोल रकमको सबैभन्दा नजिक रहेको सारभूतरूपमा प्रभावग्राही प्रस्ताव छनोट गरिएको उल्लेख छ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार पश्चिम सुर्खेतको सडक सञ्जाल विस्तार तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेर लगाम–धामिसेन सडकको ठेक्का प्रक्रिया अघि बढाइएको हो। उक्त आयोजनाका लागि आवश्यक बजेटको व्यवस्थासमेत गरिएको उनले बताएका छन्।

यसअघि बड्डीचौरदेखि लगामसम्मको सडक खण्डको ठेक्का प्रक्रिया सम्पन्न भई निर्माण अघि बढिसकेको छ। लगाम–धामिसेन खण्डको प्रक्रिया पनि अघि बढेसँगै बड्डीचौर–गुटु–लगाम हुँदै कर्णाली जोड्ने सडक स्तरोन्नतिले गति लिने अपेक्षा गरिएको छ।

वर्षौंदेखि जोखिमपूर्ण र असहज सडक यात्राको समस्या भोग्दै आएका पश्चिम सुर्खेतका नागरिकका लागि यो आयोजना महत्त्वपूर्ण मानिएको छ। सडक कालोपत्रे भएपछि आवागमन सहज हुनुका साथै कृषि उपजको बजारीकरण, स्थानीय व्यापार व्यवसाय र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार