२०८३ मंसिर ५ , शनिबार
फ्रन्ट पेज

महाकुम्भको सँघारमा निदाएको वीरेन्द्रनगर

न रङ्गिए पोल, न ठडिए स्वागतद्वार : निभेका बत्ती, धुलो र खाल्डाखुल्डीले पाहुना गिज्याउँदै


सुर्खेत । नेपाली खेलकुदको सबैभन्दा ठुलो उत्सव दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दिनगन्ती सुरु भइसकेको छ । लामो प्रतीक्षा, अन्योल र रस्साकस्सीपछि आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय खेलकुदको महायज्ञ लाग्दैछ । औपचारिक उद्घाटन मंसिर १६ गते हुने तय भएपनि विभिन्न खेलका प्रतिस्पर्धाहरू भने आउँदो ८ गतेदेखि नै सुरु हुँदैछन् ।

तर, विडम्बना के छ भने, देशभरका हजारौँ खेलाडी, प्रशिक्षक, निर्णायक र खेलप्रेमी पाहुनालाई स्वागत गर्न दुलहीझैँ सिङ्गारिनुपर्ने आतिथ्य सहर वीरेन्द्रनगर यतिबेला मस्त निद्रामा जस्तै छ । खेल सुरु हुन चार दिन मात्र बाँकी रहँदासम्म सहरमा न त उत्सवको रौनक देखिन्छ, न त कुनै उत्साह नै छ । कतै स्वागतद्वार (गेट) ठडिएका छैनन्, कतै बिजुलीका पोल रङरोगन गरिएका छैनन् । उल्टै मुख्य राजमार्गका सडक बत्तीहरू निभेका छन्, धुलो उड्ने खाल्डाखुल्डी उस्तै छन्, फोहोरको र अव्यवस्थित ट्राफिकले आतिथ्य सहरको लापरबाही छर्लङ्ग पारिरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मूल आयोजक र कर्णाली प्रदेश खेलकुद विकास परिषद् सह–आयोजक भए पनि प्रतियोगिताको आतिथ्यता र सहरको सौन्दर्यीकरणको प्रत्यक्ष दायित्व आतिथ्य सहर वीरेन्द्रनगर नगरपालिकाको काँधमा छ । कर्णालीले इतिहासकै पहिलो पटक पाएको यो स्वर्णिम अवसरमा देशभरबाट आउने पाहुनाका सामु प्रदेशको राजधानी कस्तो छ र यहाँको आतिथ्य सत्कार कस्तो छ भनेर देखाउने यो सुनौलो मौका हो । तर, राजधानीको मुख्य प्रवेशद्वार सुब्बाकुनादेखि बाङ्गेसिमलसम्मको चारलेन सडकको अवस्था हेर्ने हो भने निराशा मात्र हात लाग्छ ।

सडकमा जडान गरिएका सोलार तथा अन्य बत्तीहरू लामो समयदेखि एकतर्फी फर्किएका छन्, कैयौँ बत्तीहरू महिनौँदेखि निभेका छन् । रेडियो नेपालको टावर क्षेत्रको बत्ती बिग्रेको एक महिना बितिसक्दा पनि मर्मत गर्ने जाँगर कसैले देखाएको छैन् । मुख्य चोकहरूमा जडान गरिएका हाइमास्ट लाइटहरू शोभाका लागि मात्र ठडिएका छन् । यति मात्र होइन, खेल स्थल र बजार क्षेत्र जोड्ने भित्री सडकहरूको अवस्था झनै दयनीय छ । हटिया चोकदेखि कुइनेपानी जोड्ने सडक, सिमलचोकदेखि पूर्वतर्फका बाटाहरू, कर कार्यालयदेखि उत्तरतर्फ कालिन्चोक जाने सडकहरू खाल्डाखुल्डी छन् ।

खेल सुरु हुने बेलासम्म सहरको पूर्वाधार र सरसफाइमा देखिएको सुस्तताप्रति नागरिक अगुवा तथा विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् । विश्लेषक पिताम्बर ढकाल भन्छन्, ‘यदि हामीले वास्ता गरेनौँ, नगर फोहोर नै रह्यो र सडकमा खाल्डाखुल्डी यथावत् रहे भने बाहिर राम्रो सन्देश जाँदैन । बाहिरबाट सुनेर आएका मान्छेले यहाँ आउँदा केही नदेखेपछि वीरेन्द्रनगरको जुन साख हुनुपर्ने हो, त्यो रहन सक्दैन ।

’ ढकालका अनुसार उपमहानगरपालिका उन्मुख कर्णालीको एक मात्र मुख्य नगर भएकाले वीरेन्द्रनगरले यतिबेला पोखरा र काठमाडौँले जस्तै सफा र सुन्दर सहरको उदाहरण पेस गर्नुपथ्र्यो । ‘अहिले यहाँ कुम्भमेला जस्तै ठुलो खेल महोत्सव हुँदैछ, जहाँ खेलाडी र दर्शकहरूको ठुलो घुइँचो लाग्छ । त्यसैले यसमा नगरपालिकाले हेलचेक्र्याइँ गर्नु हुँदैन,’ ढकाल थप्छन्, ‘चाहने हो भने खाल्डाखुल्डी पुर्ने जस्ता काम एकै दिनमा पनि गर्न सकिन्छ, गाह्रो कुरा होइन । तर, अहिलेको तयारी व्यापक भयो भनेर ठान्नु हुँदैन् ।’

एकातिर सहरको पूर्वाधार जीर्ण छ भने अर्कोतिर पाहुनाको मुख्य आतिथ्य सत्कार (होटेल, यातायात, बजार) सम्हाल्ने निजी क्षेत्रलाई तिनै तहका सरकारले पूर्ण रूपमा बेवास्ता गरेका छन् । दशौँ राष्ट्रिय खेलकुदको तयारीमा सरकार र निजी क्षेत्रबिचको समन्वय शून्य देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतले प्रदेश सरकार र स्थानीय सरकारको तयारीप्रति असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष रावत भन्छन्, ‘समग्रमा मैले खेलकुदको तयारी खासै राम्रो देखेको छैन । प्रचारप्रसार, स्वागतद्वार तथा ब्यानर निर्माण, धुलो उड्ने बाटोघाटोको व्यवस्थापन, होटेल व्यवस्थापन र तयारी समितिहरू गठन गर्ने जस्ता कामहरू वीरेन्द्रनगरमा देखिएको छैन् ।’ सरकारले निजी क्षेत्रलाई बैठकमा बोलाउने वा भूमिका स्पष्ट पार्ने कुनै चासो नदेखाएको रावतको गुनासो छ । ‘संघ, प्रदेश र स्थानीय सरकारले हेर्ने दृष्टिकोण जे–जस्तो भए पनि निजी क्षेत्र अलि माथि उठेर लाग्नुपर्छ र आफ्नै कर्णालीमा महाकुम्भ मेला जस्तै यो ठुलो खेल महोत्सव हुन लागेकाले यसलाई सफल बनाउन निजी क्षेत्रको पूर्ण योगदान रहनेछ,’ रावतले भने ।

वीरेन्द्रनगर नगरपालिकाले भने कानुनी प्रक्रिया र समयको पाबन्दीका कारण काम देखिन केही ढिलाइ भए पनि भित्रभित्रै तयारी तीव्र पारिएको दाबी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद भट्टराईका अनुसार नगर कार्यपालिकाको बैठकले चासो लिँदै उपमेयरको संयोजकत्वमा विशेष समिति गठन गरी काम अघि बढाएको छ । प्रशासकीय अधिकृत भट्टराई भन्छन्, ‘विधि, प्रक्रिया र कानुनसम्मत ढङ्गले काम गर्नुपर्ने समयको पाबन्दीलाई हेर्दा हामीले सोचेजति सबै काम तत्काल गर्न नसके पनि केही कामहरू अगाडि बढेका छन् ।

बृहत् रूपमा विश्लेषण गरेर तत्काल गर्न सकिने कामहरू अगाडि बढाएकाले केही दिनपछि मैदानमा प्रत्यक्ष सुधार देखिनेछ ।’ उनका अनुसार खेल स्थल नजिकका वडा नं. ६, ७ र ८ का वडाध्यक्षहरूलाई समितिमै राखेर बिग्रिएका सडक बत्ती मर्मत गर्ने, विभिन्न स्थानमा डस्टबिन थप्ने, धार्मिक तथा पर्यटकीय स्थलको सौन्दर्यीकरण गर्ने र स्वागतद्वार निर्माण गर्ने काम सुरु भइसकेको छ ।

नेपाली खेलकुदको यो महाकुम्भमा कुल ३२ खेलका ३ सय ८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । जसमा ३ सय ८४ स्वर्ण, ३ सय ८४ रजत र ५ सय ६९ कांस्य गरी कुल १ हजार ३ सय ३७ पदकका लागि खेलाडीहरूले आफ्नो कौशल प्रदर्शन गर्नेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल—एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टोलीको सहभागिता रहनेछ । भव्य उद्घाटन तथा समापन समारोह वीरेन्द्रनगरस्थित नवनिर्मित कर्णाली प्रदेश रङ्गशालामा आयोजना गरिनेछ । खेलहरूलाई विकेन्द्रित गर्ने नीति अनुसार सुर्खेतसहित सात जिल्लामा खेल सञ्चालन गरिनेछ । जसअनुसार मुख्य आयोजकस्थल सुर्खेतमा सर्वाधिक २३ खेल हुनेछन् भने नेपालगन्ज, बर्दिया र सल्यानमा दुई–दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल सञ्चालन हुने तय भएको छ ।

‘केही दिनभित्रै मैदानमा प्रत्यक्ष सुधार देखिनेछ’
भिमप्रसाद भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

दशौँ राष्ट्रिय खेलकुदको आयोजक समितिबाट जानकारी प्राप्त भएपछि नगर कार्यपालिकाको बैठकले विशेष चासो लिँदै उपमेयरज्यूको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको बैठक बसेर खेलकुद लक्षित कार्यक्रम तय भइसकेको छ । तत्काल ठुलो खर्च गरेर खरिद प्रक्रिया पूरा गर्नुपर्ने समयलाई ख्याल गर्दै छिटो गर्न सकिने कामहरू अस्तिदेखि नै अगाडि बढाइएको छ ।

मुख्य रूपमा यतिबेला भिडभाड बढी हुने हुँदा फोहोरमैला व्यवस्थापन तथा सरसफाइलाई प्राथमिकतामा राखेका छौँ । विभिन्न स्थानमा डस्टबिन थप्ने र वडाको संयोजकत्वमा सरसफाइ अभियान चलाइएको छ । पाहुनाहरू धार्मिक तथा पर्यटकीय स्थल घुम्न जाने भएकाले ती क्षेत्रको रङ्गरोगन, सौन्दर्यीकरण र स्वागतद्वार निर्माणका काम बजेटभित्रै रहेर सुरु गरेका छौँ । खेल स्थल नजिकका वडा नं. ६, ७ र ८ का वडाध्यक्षज्यूहरू समितिमै रहेर बिग्रिएका सडक बत्ती मर्मत गर्ने काम अघि बढाइएको छ । विधि, प्रक्रिया र कानुनसम्मत ढङ्गले काम गर्नुपर्दा केही समय लागे पनि बृहत् विश्लेषण गरेर काम थालिएकाले केही दिनपछि प्रत्यक्ष सुधार देखिनेछ ।

‘सरकारले नसम्झे पनि निजी क्षेत्रको पूर्ण योगदान रहन्छ’
धनबहादुर रावत, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश

वीरेन्द्रनगर नगरपालिकाले आफ्नो क्षेत्रगत हिसाबले काम गरिरहेको होला, तर प्रदेश सरकारको तयारी खासै देखिएको छैन् । यसमा निजी क्षेत्रको सहभागिता पनि कतै देखिएको छैन् । महासंघलाई बैठकमा बोलाउने वा कसरी अगाडि बढ्ने भन्नेमा सरकारका तर्फबाट कुनै चासो देखाइएको छैन् । सामाजिक विकास मन्त्रीज्यूले अस्ति अनौपचारिक बैठक बोलाउनुभएको थियो, तर त्यसमा निजी क्षेत्रको भूमिका के हो भन्ने ठोस कुरा भएन । समग्रमा मैले खेलकुदको तयारी खासै राम्रो देखेको छैन् ।

प्रचारप्रसार, स्वागतद्वार तथा ब्यानर निर्माण, धुलो उड्ने बाटोघाटोको व्यवस्थापन, होटेल व्यवस्थापन र तयारी समितिहरू गठन गर्ने जस्ता कामहरू वीरेन्द्रनगरमा देखिएको छैन् । सरकारले आह्वान नगरे पनि म रुकुमबाट फर्किएलगत्तै दुई–चार दिनभित्रै बैठक बोलाउँछु । संघ, प्रदेश र स्थानीय सरकारले हेर्ने दृष्टिकोण जे–जस्तो भए पनि निजी क्षेत्र अलि माथि उठेर लाग्नुपर्छ । आफ्नै कर्णालीमा महाकुम्भ मेला जस्तै यो ठुलो खेल महोत्सव हुन लागेकाले यसलाई सफल बनाउन निजी क्षेत्रको पूर्ण योगदान रहनेछ ।

‘तयारीमा चुक्यौँ भने वीरेन्द्रनगरको साख जोगिँदैन’
पिताम्बर ढकाल, विश्लेषक

सहरका सडकहरू खाल्डाखुल्डी भइसकेका छन्, ती तत्काल मर्मत गर्नुपर्ने हो । हटिया चोकदेखि कुइनेपानी आउने, सिमलचोक पूर्वका बाटाहरू र कर कार्यालयदेखि कालिन्चोक जाने बाटो खाल्डाखुल्डी नै छ । खेल स्थल नजिकका यस्ता बाटाहरूको खाल्डाखुल्डी पुरपार गरेर चिटिक्क पार्नुपर्ने हो नि ! यो सहरको इज्जतको विषय हो । वीरेन्द्रनगरको सुन्दरता भनेकै यही सफा र चिटिक्क सडक हो ।

त्यसका लागि नगरपालिकाले मात्र होइन, नागरिकहरूले पनि आफ्नो घरअगाडि सरसफाइ गरेर मिहिनेत गर्नुपर्छ । पोखरा र काठमाडौँ जस्तै उदाहरणीय वीरेन्द्रनगरलाई पनि बनाउनुपर्छ, किनभने यो उपमहानगरपालिका उन्मुख कर्णालीको एक मात्र मुख्य नगर हो । कुम्भमेला जस्तै ठुलो खेल महोत्सवमा नगरपालिकाले हेलचेक्र्याइँ गर्नु हुँदैन् । यदि वास्ता गरेनौँ, नगर फोहोर नै रह्यो र खाल्डाखुल्डी यथावत् रहे भने बाहिर राम्रो सन्देश जाँदैन र वीरेन्द्रनगरको साख रहन सक्दैन । चाहने हो भने खाल्डाखुल्डी पुर्ने जस्ता काम एकै दिनमा पनि गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८३ मंसिर ५ गते शनिबार