नीति तथा कार्यक्रम प्रस्तुत गर्नेमा सिरिजङ्गा पहिलो

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले वडा नम्बर ६ मामाङखेमा रहेको नेपालको पहिलो र एक मात्र लिम्बु संग्रहालय एकीकृत गर्दै मुन्धुम पर्यटन पार्क बनाउने घोषणा गरेको छ। आगामी आव २०८१/८२ का लागि बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष लालकृष्ण चौहानले उक्त घोषणा गरेका हुन्।

यहाँका ९ स्थानीय तहमध्ये आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सिरिजङ्गा पहिलो स्थानीय तह बनेको छ। मुन्धुम पर्यटन पार्क निर्माणका लागि पालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार पारी तत्काल निर्माणकार्य अघि बढाउने पालिकाले घोषणा गरेको छ।

पालिकाले याम्फुदिनको आम्जीखोलाबाट नयाँ झोरेनी, तुप्लुङ, दुन्दुडाँडा, नर्गचा चाइराम हुँदै कञ्चनजंघा आधार शिविरसम्म जाने साहसिक पदमार्ग निर्माणलाई पालिकाले गौरवको योजनाको रूपमा निरन्तरता दिएको छ। पाथीभरा क्षेत्रलाई प्रवद्र्धन गर्न पालिकाले पर्यटकीय गतिविधि र पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ।

पालिकाले मालपोत र नापी कार्यालयबाट प्रदान हुने सेवा स्थानीय तहमार्फत प्रवाह हुने प्रबन्धका लागि आवश्यक पहल गर्ने भएको छ। स्थानीय उत्पादनको बजारीकरण गरी अर्थतन्त्र चलायमान बनाउन पालिकाको केन्द्र तेल्लोकमा साप्ताहिक हाटबजार सञ्चालनको अवधारणासमेत पालिकाले अघि सारेको छ।

उपभोक्तामैत्री बजार स्थापनाका लागि पालिकाले नियमित बजार अनुगमन गर्ने संयन्त्रको प्रभावकारी कार्य सञ्चालनमा जोड दिएको छ। स्थानीय लिम्बु समुदायको भाषा र लिपि संरक्षणका लागि प्रत्येक वडाका सामुदायिक विद्यालयमार्फत लिम्बु समुदायको भाषा र लिपि संरक्षण गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ।

पालिकाले आगामी आवको पहिलो त्रैमासिकभित्र विद्यालयको अनुगमन तथा मूल्यांकन गरी न्यून विद्यार्थी संख्याको आधारमा विद्यालयको मर्जर तथा तह घटुवा गर्ने नीतिसमेत लिएको छ। सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भर्नादर कम गर्न तथा बालबालिकाको शैक्षिक भविष्यका लागि बिउपुँजीको रूपमा कम्तीमा १५ वर्षसम्म कोष कायम रहने गरी बजेटको प्रबन्ध गर्ने पालिकाले नीति लिएको छ।

त्यस्तै आधारभूत शिक्षा उत्तीर्ण भएका विद्यार्थीलाई मूल्यांकनका आधारमा वार्षिक रूपमा उत्कृष्ट एक र लगनशील तथा प्रभावकारी सिकाइमा केन्द्रित एक शिक्षकलाई पुरस्कृत गर्ने गाउँपालिकाले घोषणा गरेको छ। पालिकाका प्रत्येक वडामा खेलकुद क्लब गठन गरी उक्त युवा सञ्जाललाई खेलकुद, विपद् व्यवस्थापन, स्वयंसेवी र सामाजिक क्षेत्रका काममा परिचालन गर्ने नीति गाउँपालिकाले तयार गरेको छ।

पालिकाका ७२ वटै टोल विकास संस्थामा बाल क्लब गठन गरी बालप्रतिभा पहिचान गर्ने, नेतृत्व क्षमताको विकास गर्ने, कुलत र कुसंस्कारविरुद्ध अभियान सञ्चालनमा प्रेरित गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ।

गाउँपालिकाले ‘बिरामीको सहारा, सिरिजङ्गा’कार्यक्रम अघि सारेको छ। यस कार्यक्रममार्फत ज्येष्ठ नागरिक र फरक शारीरिक क्षमता भएका नागरिकलाई लक्षित गरी प्रत्येक तीन–तीन महिनाको फरकमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

मुटु रोगी, उच्च रक्तचाप, मधुमेह र दमका बिरामीलाई निःशुल्क औषधिको व्यवस्था मिलाउने पालिकाले घोषणा गरेको छ। भौगोलिक विकटतालाई ध्यानमा राख्दै पालिकाले एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। पालिकाले जंक फुड (पत्रु खाना घटाउने)कार्यक्रमलाई अघि बढाउने भएको छ।

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पालिकाले उच्च जोखिम क्षेत्र पहिचान गरी चट्याङ निषेध क्षेत्र उपकरण जडान गर्ने घोषणा गरेको छ। वित्तीय सुशासन कायम गर्न पालिकाले थप बेरुजु बढ्न नदिने तथा बेरुजु रकम फछ्र्योट गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ।

‘सेवा लिने घरघरबाट, सरकारी काम प्रविधिबाट’भन्ने नारा स्थापित गर्दै पालिकाले सम्भव भएसम्म घरमै बसिबसी राजस्व भुक्तानी गर्न सकिने प्रविधिको विकास गर्ने घोषणा गरेको छ।

विकास निर्माणका कार्यको अनुगमन तथा मूल्यांकनमा एकरूपता ल्याउन पालिकाका प्राविधिक कर्मचारीलाई हप्ताको चार दिन कार्यालयको काममा केन्द्रित गर्ने तथा अन्तिम दुई दिनलाई अनुगमनमा खर्चिने कार्यतालिका बनाई लागु गर्ने पालिकाले घोषणा गरेको छ। सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि पालिकाले ‘बैंकको जस्तो सेवा तथा होटलको जस्तो आतिथ्यता’ अभियान सञ्चालन गर्ने भएको छ। त्यसका लागि पालिकाले सेवाप्रवाहमा कर्मचारीलाई प्रतिबद्ध र जवाफदेही बनाई कामको आधारमा प्रोत्साहन रकमको समेत व्यवस्था गर्ने घोषणासमेत गरेको छ।

कार्यक्रममा पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बुले नीति तथा कार्यक्रमअनुसार बजेटको तयारीमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा पालिकाको वडा नम्बर १ का वडाध्यक्ष सिंहबहादुर इवारम, वडा नम्बर ५ का वडाध्यक्ष बमप्रसाद गौतम, वडा नम्बर ४ का वडाध्यक्ष रूपदास भट्टराई र कार्यपालिका सदस्य गंगा खड्का भट्टराईले नीति तथा कार्यक्रमको सान्दर्भिकता र पालिकाको आगामी भूमिकाबारे बताएका थिए।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार योसँगै आगामी आवको बजेट अधिवेशनसमेत सुरु भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *