राष्ट्रिय बुद्धिचाल ‘बी’ छनोटमा पुरुषोत्तम च्याम्पियन

युवा खेलाडी पुरुषोत्तम सिलवाल बिहीबार राष्ट्रिय बुद्धिचाल ‘बी’ छनोट प्रतियोगितामा च्याम्पियन भएका छन्। भक्तपुर सूर्यविनायक नगरपालिका चुनदेवीमा बिहीबार सम्पन्न नौ चरणको समाप्तिमा सर्वाधिक ७.५ अंक जोड्दै पुरुषोत्तम च्याम्पियन भएका हुन्।

यो छनोटबाट पुरुष र महिलामा समान ९ जना खेलाडीले आगामी जेठ १९ देखि काठमाडौंमा हुने २४औं राष्ट्रिय प्रतियोगितामा स्थान बनाए। महिलातर्फ बुधबार नै ९ खेलाडीको छनोट भइसकेको छ। नेपालका शीर्ष तीन वरीयताका खेलाडीसहित पुरुष र महिलामा समान १२ खेलाडीले २४औं राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तय छ।

बिहीबार सम्पन्न छनोटमा कुल ६० जना राष्ट्रिय शीर्ष खेलाडीले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये युवा खेलाडी पुरुषोत्तमले शीर्षता प्राप्त गरेका हुन्। नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न छनोट प्रतियोगितामा काभ्रेका क्यान्डिडेड मास्टर मिलन लामा, नेपाल पूर्वच्याम्पियन केशव श्रेष्ठ र ललितपुरका सुरोज महर्जन संयुक्त रूपमा तेस्रो भए। यी तीनैले समान ६.५ अंक बटुले। राजअम्ब कार्की, प्रकाशचन्द्र नेपाल, राजन सुवेदी, प्रेमकृष्ण महर्जन र एरिना इन्टरनेसनल मास्टर सुश्रुत दाहाल पनि छनोट भए।

यी सबैले समान ६ अंक प्राप्त गरे। सुशील चौधरी र सिएम पुरुषोत्तम चौलागाई भने दुई वैकल्पिक खेलाडीको सूचीमा छन्। आगामी सेप्टेम्बरमा विश्व बुद्धिचाल महासंघले युरोपको हंगेरीमा चेस ओलम्पियाडको आयोजना गर्न मिति तय गरिसकेको छ।

यस चेस ओलम्पियाडका लागि नेपालको तर्फबाट पाँच जना खेलाडी छनोट गरिने भएको छ। काठमाडौंको होटल ले हिमालयनमा हुने २४औं राष्ट्रिय प्रतियोगिताबाट नै यी खेलाडीको छनोट गरिँदै छ।

सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले विजेतालाई पुरस्कार वितरण गरेका थिए । उनले नगरको विकासनिर्माण कार्यसँगसँगै रचनात्मक क्रियाकलापमा पनि योगदान पुर्‍याउने लक्ष्य रहेको उल्लेख गर्दै आगामी बजेट मार्फत चेस खेल उत्थान गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामाले महासंघको विधान संशोधन हुने संघारमा रहेको जानकारी दिए। लामाले महासंघको वार्षिक क्यालेन्डरअनुरूप कार्यक्रम तय गरिँदै कार्यान्वयनमा आइसकेको पनि बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *