कृषकलाइ अनुदानमा वितरण गर्नुपर्ने युरिया मल एक विक्रेता सहकारीले निजी स्टोरलाई विक्री गरेको पाईएको छ । कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतले उक्त निजी विक्रेतालाई वितरण गरिएको मल जफत गरी प्रहरीलाई बुझाएको छ ।
दैलेखको गुराँस गाउँपालिकाका कृषकहरुलाई अनुदानमा मल वितरण गर्नेगरीअनुमति पाएको सुनगाभा साना किसान कृषि सहकारी संस्था लिमिटेडले वीरेन्द्रनगरमा रहेको निजी मल विक्रेता पसललाई सरकारबाट पाएको मल वितरण गरिदिएको हो । उक्त सहकारीको ठेगाना गुराँस गाउँपालिका ६ रहेको छ ।
कृषि सामग्री लिमिटेडको विक्रेता रहेको उक्त सहकारीले गुराँस गाउँपालिकाका केही क्षेत्रमा कृषकहरुलाई अनुदानमा मल वितरण गर्नेगरि अनुमति पाएको थियो । तत्काल उक्त सहकारीले कम्पनीबाट पाएको ९० बोरा मल निजी पसललाई विक्री गरेको सूचनाका आधारमा जफत गरिएको हो ।
कम्पनीले जफत गरी प्रहरीलाई बुझाएको मल कम्पनीलाई नै बुझाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । ‘उहाँहरुले हामीलाई बुझाएको मल फिर्ता गरेका छौं, थप कारबाही प्रक्रिया कम्पनीले नै गर्नुपर्छ ।’ उनले भने ।
उक्त जफत गरिएको मलको विषयमा निर्णय गर्न प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने कृषि सामग्री कम्पनी लिमिटेडका एक कर्मचारीले जानकारी दिए ।
 
             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            
 
            



 
                                     
                                     
                                     
                                                         
                                
                         
                                                 
                                                 
                                                 
                                                 
                                                
+ There are no comments
Add yours