सकर (फुटबल) र बेसबल प्रसिद्ध रहेको देशका समर्थकहरूको क्रिकेटमा ध्यान खिच्न अमेरिका खेलाडीहरू ठूला टोलीलाई पराजित गर्ने लक्ष्यमा थिए। यही लक्ष्य लिएर बिहीबार मैदान उत्रिएको अमेरिकी क्रिकेट टोलीले आइसिसी ट्वान्टी–२० विश्वकपमा पाकिस्तानमाथि अनपेक्षित नतिजा निकाल्यो।
सन् २०२२ को उपविजेता र सन् २००९ को विजेता पाकिस्तानमाथि ट्वान्टी–२० विश्वकपमा डेब्यु गरेका खेलाडीले डलासमा रोमाञ्चक सुपर ओभर पाँच रनले जित्नु प्रतियोगिताको इतिहासमा सबैभन्दा ठूलो ‘अपेसट’ थियो। तर, क्रिकेट जगत्मा यो जितको घोषणा भइरहँदा कट्टर समर्थकले मात्र यस खेललाई प्रत्यक्ष हेरे।
अमेरिकाको टेक्सस राज्यस्थित डलासको ग्रान्ड पेरी उपनगरमा रहेको माइनर लिग बेसबल पार्कमा १५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाइएको छ। यही रंगशालामा नेपालले समूह ‘डी’ अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेलेको थियो।
उक्त खेल भइरहँदा मैदान नेपाली समर्थकले भरिभराउ थियो। तर, अमेरिका र पाकिस्तानको खेल हेर्न भने करिब सात हजार दर्शक मात्रै उपस्थित भए। यो रोमाञ्चक खेल अमेरिकी टेलिभिजनमा प्रसारण गरिएको थिएन। तर, सदस्यता लिएर हेर्न मिल्ने विलो टिभी र ‘स्ट्रिमिङ’ सेवामा भने यो खेल प्रत्यक्ष प्रसारणमा थियो। अनलाइन र सामाजिक सन्जालमा अमेरिकी खेल समर्थकहरूलाई चाँडै आफ्नो टोलीको अपडेट दिन यी दुई माध्यमको प्रयोग गरिएको थियो।
एनपिआर पब्लिक रेडियोले क्रिकेटसँग परिचित नभएकाहरूलाई आकर्षित गर्न बेसबलको प्रसंग जोड्दै कमेन्ट्री गरिरहेको थियो। ‘अमेरिकी टोलीले सुपर ओभरमा पाकिस्तानलाई हराएको छ। पाकिस्तान अमेरिकासँग पराजित हुनु भनेको बोस्टन रेड सोक्सडरहम बुल्ससँग पराजित हुनुजस्तै हो,’ नर्थ क्यारोलिनाको माइनर लिग बेसबल टोलीलाई उद्धृत गर्दै रेडियोका कमेन्टेटरले भनिरहेका थिए।
अमेरिकाबाहिर भने यो खेललाई चिनाउन कुनै आवश्यक थिएन। क्रिकेटमा चासो राख्नेहरूले एसोसिएट राष्ट्र अमेरिका र टेस्ट राष्ट्र पाकिस्तानबीचको यो खेल सकिनैबित्तैकै सामाजिक सन्जालमा टीकाटिप्पणी गर्न सुरु गरिसकेका थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा पनि यो खेललाई लिएर ठूलो हेडलाइन बन्न सुरु भइसकेको थियो। बेलायतको युके टाइम्सले यसलाई ‘क्रिकेट इतिहासको सबैभन्दा ठूलो अपसेट’ भनेको छ भने अस्ट्रेलियाको डेली टेलिग्राफले ‘अमेरिकीहरूले विश्व क्रिकेटलाई स्तब्ध पारेको’ समाचार प्रकाशित गरेको छ।
यी सबै खाले समाचार र टीकाटिप्पणी विश्व क्रिकेटको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का लागि एक आनन्द दिने धुन हुनेछ। जसले अमेरिकामा क्रिकेटको लोकप्रियता बढाउन सहआयोजकको जिम्मेवारी दिएको थियो।
बेसबलले सिध्याएको क्रिकेट
१८औं शताब्दीको प्रारम्भमा ब्रिटिसले अमेरिकामा क्रिकेट भिœयाएको बताइन्छ। त्यस बेला क्रिकेटको लोकप्रियता अमेरिकामा चरम बिन्दुमा थियो। सन् १८४४ मा अमेरिकाले सेन्ट जर्ज क्रिकेट क्लब मैदान, न्युयोर्कमा क्यानडासँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो। यो खेलमा करिब २० हजार दर्शकको उपस्थिति रहेको थियो। तर, १८५०–६० को दशकमा बेसबलले अमेरिकामा क्रिकेटको स्थान लिन थाल्यो। बेसबलको लोकप्रियता बढाउन खेलका नियमहरूमा परिवर्तन पनि गरियो। त्यही बेला क्रिकेटको समतल ब्याटविपरीत गोला ब्याटहरू बनाइयो।
क्रिकेटको लोकप्रियतामा गिरावट आउनुको अर्को कारण १९औं शताब्दीको उत्तरार्धमा अमेरिकी क्रिकेटमा धनाढ्यहरूको प्रवेश रह्यो। उनीहरूले क्रिकेटलाई आरक्षित ‘एमेच्योर’ खेल बनाए। तर, इङ्ल्यान्ड र अस्ट्रेलियाले यो खेललाई व्यावसायिक बनाउँदै लगे। विश्वका अन्यत्र स्थानमा क्रिकेट व्यावसायिक खेल हुँदै गर्दा उत्तर अमेरिकी क्रिकेट क्लबहरू भटाभट बन्द हुन थाले। फिलाडेल्फिया सिसी र मेरियनजस्ता क्लबले क्रिकेट खेलाउन छाडे। त्योसँगै औपनिवेशिक युगको खेलको प्रभाव फिक्का हुँदै गयो।
अमेरिकाले कहिल्यै पनि ट्वान्टी–२० विश्वकप या एकदिवसीय संस्करणमा सहभागिता जनाउन सकेको थिएन। सहआयोजक बनेपछि अमेरिकाले स्वतः यति ठूलो मञ्चमा स्थान बनायो।
गत शनिबार आइसिसी वरीयतामा आफूभन्दा पाँच स्थान तल रहेको क्यानडामाथि अमेरिकाले सात विकेटको रबाफिलो जित हात पा¥यो। वरीयतामा आफूभन्दा तल रहेको क्यानडामाथि यतिको जित हासिल गर्नुलाई अस्वाभाविक मानिएको थिएन। विश्वकपअघि भएको चार ट्वान्टी २० शृंखला पनि अमेरिकाले जितिसकेको थियो।
बंगलादेशसँगको तीन खेलको शृंखला पनि अमेरिकाले २–१ ले जित्दै अपत्यारिलो सन्देश दिएको थियो। तर, विश्व वरीयतामा आफूभन्दा १२औं स्थानमाथि रहेको पाकिस्तानविरुद्ध यस्तो नतिजाको अपेक्षा भने सायद कसैले गरेका थिएन।
अस्ट्रेलियन नागरिक स्टुअर्ट लको प्रशिक्षणमा रहेको अमेरिकी टोलीमा बलियो भारतीय प्रभाव छ। आप्रवासीहरू मिलेर बनेको यो टोलीमा मोनांक पटेल (कप्तान), हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नीतीश कुमार, नोस्टुस केन्जिगे र सौरभ नेत्रलोकरजस्ता भारतीय खेलाडी छन्। उनीहरूबाहेक न्युजिल्यान्डका पूर्वअलराउन्डर कोरी एन्डरसन पनि यही टोलीमा छन्।
नर्थ क्यारोलिना र क्यालिफोर्नियामा खेल आयोजना गर्ने तीनै राज्यमा स्थानीय लिगको विकाससँगै ग्रासरुट लेभलमा क्रिकेट खेल बढ्दै गएको छ। गत वर्ष घरेलु प्रतियोगिता मेजर लिग क्रिकेटको सुरुआत भएको थियो। यो लिगमा नाम चलेका अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति थियो भने भारतीय लगानीकर्ताहरूले लगानी गरेका थिए।
३८ बलमा ५० रन बनाएका अमेरिकी कप्तान पटेलले यो जित ‘गेम चेन्जर’ साबित हुनेमा आफू विश्वस्त रहेको बताउँछन्। ‘अमेरिकामा विश्वकप आयोजना गर्नु र यहाँ एक टिमको रूपमा प्रदर्शन गर्नुले हामीलाई अमेरिकामा क्रिकेट विकास गर्न मद्दत गर्छ। पक्कै पनि विश्वकपमा पाकिस्तानलाई हराउनुले हाम्रा लागि धेरै अवसरका ढोका खुल्नेछ,’ उनले भने।








