२०८३ कात्तिक १ , शनिबार
फ्रन्ट पेज

सुर्खेतमा तरकारीको भाउ फेरि उकालो, एक वर्षमा औसत मूल्य ३२ रुपैयाँले बढ्यो



सुर्खेत ।  कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा गत वर्षको असोजमा प्रतिकिलो ४७ रुपैयाँ ५० पैसामा पाइने प्याजको थोक मूल्य यस वर्ष ९२ रुपैयाँ पुगेको छ । प्रतिकिलो १४५ रुपैयाँ रहेको लसुनको मूल्य बढेर २९४ रुपैयाँ पुगेको छ । गोलभेँडा, साग, सिमी र लौकाको मूल्य पनि गत वर्षको तुलनामा बढेको छ । वीरेन्द्रनगरस्थित बुलबुले कृषि हाट बजार व्यवस्थापन समितिको तथ्यांकअनुसार गत वर्षको असोजको तुलनामा यस वर्ष तरकारी तथा फलफूलको औसत थोक मूल्य ३७ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । २०८२ असोजमा प्रतिकिलो औसत ८७ रुपैयाँ ४६ पैसा रहेको मूल्य यस वर्षको असोजमा ११९ रुपैयाँ ९१ पैसा पुगेको हो । एक वर्षमा औसत मूल्य प्रतिकिलो ३२ रुपैयाँ ४५ पैसाले बढेको देखिन्छ ।

बुलबुले कृषि हाट बजारमा गत वर्षको असोजमा प्रतिकिलो औसत ८७ रुपैयाँ ४६ पैसा रहेको तरकारी तथा फलफूलको थोक मूल्य यस वर्ष ११९ रुपैयाँ ९१ पैसा पुगेको छ । बजारमा सूचीकृत वस्तुहरूको औसत मूल्यमा एक वर्षमै प्रतिकिलो ३२ रुपैयाँ ४५ पैसाको अन्तर देखिएको हो । बुलबुले कृषि हाट बजार व्यवस्थापन समितिको तीन वर्षको मूल्य विवरणअनुसार गत वर्ष सस्तिएका धेरैजसो तरकारी यस वर्ष महँगिएका छन् । विशेषगरी प्याज, लसुन, गोलभेँडा, साग, सिमी र लौकाको मूल्य बढेको छ । तर, आलु र अदुवाजस्ता दैनिक उपभोगका वस्तुको मूल्य भने घटेको छ ।

समितिले सार्वजनिक गरेको विवरणमा २०८१ असोजमा सूचीकृत तरकारी तथा फलफूलको औसत थोक मूल्य प्रतिकिलो १०८ रुपैयाँ ६५ पैसा थियो । त्यसको एक वर्षपछि २०८२ असोजमा घटेर ८७ रुपैयाँ ४६ पैसामा झरेको मूल्य यस वर्ष पुनः बढेर ११९ रुपैयाँ ९१ पैसा पुगेको हो । गत वर्षको तुलनामा सूचीकृत वस्तुहरूको औसत मूल्य ३७ दशमलव १० प्रतिशत बढी देखिएको छ । दुई वर्षअघिको तुलनामा भने १० दशमलव ३६ प्रतिशत बढी हो ।

बजार समितिको तथ्यांकअनुसार २०८१ असोजमा सबैभन्दा सस्तो फर्सी थियो । त्यसबेला फर्सीको औसत थोक मूल्य प्रतिकिलो ३२ रुपैयाँ ५० पैसा थियो । सबैभन्दा महँगो ड्रागन फ्रुट प्रतिकिलो ३५७ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको थियो । २०८२ असोजमा सबैभन्दा सस्तो इस्कुस प्रतिकिलो २७ रुपैयाँ ५० पैसा थियो भने सबैभन्दा महँगो ड्रागन फ्रुटको मूल्य ३०७ रुपैयाँ ५० पैसा थियो ।

यस वर्षको मूल्यसूचीमा भारतीय आलु सबैभन्दा सस्तो देखिएको छ । यसको औसत थोक मूल्य प्रतिकिलो २९ रुपैयाँ ६० पैसा छ । सबैभन्दा महँगो भारतीय किवीको मूल्य प्रतिकिलो ६४५ रुपैयाँ पुगेको छ । बजारमा उपलब्ध वस्तुको प्रकार र मूल्यमा आएको परिवर्तनले पनि तीन वर्षको औसत मूल्यमा फरक पारेको देखिन्छ ।

साग, सिमी र लौकाको मूल्य लगातार बढ्दै

बुलबुले कृषि हाट बजारको मूल्य विवरणले केही तरकारीको मूल्य तीन वर्षदेखि लगातार बढिरहेको देखाएको छ । साग, सिमी, लौका र बन्दा यस्ता तरकारी हुन्, जसको थोक मूल्य २०८१ देखि २०८३ असोजसम्म प्रत्येक वर्ष बढेको छ ।

२०८१ असोजमा प्रतिकिलो ६२ रुपैयाँ ५० पैसामा बिक्री भएको सागको मूल्य २०८२ असोजमा ८२ रुपैयाँ ५० पैसा पुगेको थियो । यस वर्ष सागको औसत थोक मूल्य १०५ रुपैयाँ पुगेको छ । यसरी दुई वर्षमा सागको मूल्य प्रतिकिलो ४२ रुपैयाँ ५० पैसाले बढेको हो । गत वर्षको तुलनामा मात्रै २२ रुपैयाँ ५० पैसा महँगिएको छ । सिमीको मूल्य पनि उकालो लागिरहेको छ । २०८१ असोजमा प्रतिकिलो ८२ रुपैयाँ ५० पैसा रहेको सिमीको मूल्य २०८२ मा १०५ रुपैयाँ पुगेको थियो । यस वर्ष प्रतिकिलो १२४ रुपैयाँ पुगेको छ । दुई वर्षमा सिमीको मूल्य प्रतिकिलो ४१ रुपैयाँ ५० पैसाले बढेको देखिन्छ ।

लौकाको मूल्यमा अझ ठूलो अनुपातको वृद्धि भएको छ । २०८१ असोजमा प्रतिकिलो ३३ रुपैयाँ ७५ पैसा रहेको लौकाको मूल्य २०८२ मा ५७ रुपैयाँ ५० पैसा पुगेको थियो । यस वर्ष प्रतिकिलो ६७ रुपैयाँ पुगेको छ । दुई वर्षको अवधिमा लौकाको मूल्य झन्डै दोब्बर भएको हो । बन्दाको मूल्य पनि क्रमशः बढिरहेको छ । २०८१ असोजमा प्रतिकिलो ३४ रुपैयाँ ७५ पैसा रहेको बन्दाको मूल्य २०८२ मा ४२ रुपैयाँ ५० पैसा र यस वर्ष ४७ रुपैयाँ पुगेको छ । दुई वर्षमा बन्दाको मूल्य प्रतिकिलो १२ रुपैयाँ २५ पैसाले बढेको हो ।
भिण्डी र तितेकरेलाको मूल्य पनि दुई वर्षअघिको तुलनामा बढेको छ । २०८१ असोजमा प्रतिकिलो ४२ रुपैयाँ ५० पैसा रहेको भिण्डीको मूल्य यस वर्ष ७२ रुपैयाँ पुगेको छ । सोही अवधिमा तितेकरेलाको मूल्य प्रतिकिलो ६७ रुपैयाँ ५० पैसाबाट बढेर ११२ रुपैयाँ पुगेको छ ।

गत वर्षको तुलनामा सबैभन्दा ठूलो मूल्य अन्तर देखिएका वस्तुमध्ये लसुन र प्याज पनि छन् । २०८२ असोजमा प्रतिकिलो १४५ रुपैयाँमा बिक्री भएको लसुनको मूल्य यस वर्ष २९४ रुपैयाँ पुगेको छ । एक वर्षमा लसुनको थोक मूल्य प्रतिकिलो १४९ रुपैयाँले बढेको हो । तर, २०८१ असोजमा पनि लसुनको मूल्य प्रतिकिलो २७० रुपैयाँ थियो । त्यसैले तीन वर्षको विवरण हेर्दा लसुनको मूल्यमा ठूलो उतारचढाव देखिन्छ ।

प्याजको मूल्यमा पनि यस्तै परिवर्तन आएको छ । २०८१ असोजमा प्रतिकिलो १२३ रुपैयाँ ७५ पैसा रहेको प्याजको मूल्य २०८२ मा घटेर ४७ रुपैयाँ ५० पैसा पुगेको थियो । यस वर्ष फेरि बढेर ९२ रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा प्याज प्रतिकिलो ४४ रुपैयाँ ५० पैसाले महँगिए पनि दुई वर्षअघिको मूल्यभन्दा अहिले सस्तो छ । गोलभेँडाको मूल्य पनि गत वर्षको तुलनामा बढेको छ । २०८१ असोजमा ठूलो नेपाली गोलभेँडाको औसत थोक मूल्य प्रतिकिलो १२७ रुपैयाँ ५० पैसा थियो । २०८२ असोजमा घटेर ३७ रुपैयाँ ५० पैसामा झरेको यसको मूल्य यस वर्ष ६७ रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा ठूलो नेपाली गोलभेँडा प्रतिकिलो २९ रुपैयाँ ५० पैसाले महँगिएको हो ।

भारतीय गोलभेँडाको मूल्य पनि २०८१ असोजमा प्रतिकिलो १२३ रुपैयाँ ७५ पैसा थियो । २०८२ मा घटेर ५१ रुपैयाँ ७५ पैसा पुगेको थियो । यस वर्ष यसको मूल्य प्रतिकिलो ६२ रुपैयाँ कायम भएको छ । एक वर्षमा भारतीय गोलभेँडाको मूल्य प्रतिकिलो १० रुपैयाँ २५ पैसाले बढेको छ । अदुवा र आलुको मूल्य भने तीन वर्षदेखि घट्दो क्रममा देखिएको छ । २०८१ असोजमा प्रतिकिलो १२२ रुपैयाँ ५० पैसा रहेको अदुवाको मूल्य २०८२ मा ८३ रुपैयाँ ७५ पैसामा झरेको थियो ।

यस वर्ष थप घटेर प्रतिकिलो ७७ रुपैयाँ पुगेको छ । रातो आलुको मूल्य पनि २०८१ असोजमा प्रतिकिलो ७२ रुपैयाँ ५० पैसा थियो । २०८२ मा ६१ रुपैयाँ ७५ पैसा र यस वर्ष ५७ रुपैयाँमा झरेको छ । भारतीय आलुको मूल्य पनि निरन्तर घटिरहेको छ । २०८१ मा प्रतिकिलो ५७ रुपैयाँ रहेको भारतीय आलु २०८२ मा ३३ रुपैयाँ ५० पैसा र यस वर्ष २९ रुपैयाँ ६० पैसामा झरेको हो ।

बुलबुले कृषि हाट बजारका व्यवस्थापक केशर रास्कोटीका अनुसार बजारमा तरकारीको मूल्य स्थिर नहुनुको मुख्य कारण स्थानीय उत्पादन, मौसम र बाह्य क्षेत्रबाट हुने आपूर्ति हो । स्थानीय उत्पादन पर्याप्त हुने समयमा मूल्य घट्ने गरे पनि उत्पादन कम हुँदा बाहिरबाट ल्याउनुपर्ने तरकारी महँगिने गरेको उनले बताए । ‘स्थानीयस्तरमा सिजनअनुसार तरकारी उत्पादन बढी हुँदा मूल्य स्वतः घट्छ । २०८२ को असोजमा स्थानीय गोलभेँडा र अन्य तरकारीको उत्पादन प्रशस्त भएकाले थोक मूल्य निकै तल झरेको थियो,’ रास्कोटीले भने ।

उनका अनुसार गत वर्ष स्थानीय उत्पादन बढेका कारण गोलभेँडालगायतका तरकारी सस्तिएका थिए । यस वर्ष भने बाह्य क्षेत्रबाट आउने तरकारी तथा फलफूलको आपूर्ति घटेकाले सागपात, सिमी र आयातित फलफूलको मूल्य बढेको हो । कर्णालीको भौगोलिक अवस्था र ढुवानी व्यवस्थापनले पनि बजार मूल्यमा असर पार्ने गरेको छ । रास्कोटीका अनुसार बाह्य क्षेत्रबाट सामान ढुवानी गर्दा हुने समस्या र लोडअनलोड गर्ने जनशक्तिको अभावले लागत बढाउने गरेको छ । ढुवानीमा लाग्ने खर्च बढ्दा त्यसको प्रभाव तरकारी तथा फलफूलको थोक मूल्यमा समेत पर्ने गरेको उनले बताए ।

पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनले पनि बजारलाई प्रभावित बनाएको उनको भनाइ छ । इजरायल र इरानबीचको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्चमा असर परेको रास्कोटीले बताए । बजार समितिले उपलब्ध गराएको तीन वर्षको विवरणमा २०८२ असोजमा धेरै वस्तुको मूल्य घटेको देखिन्छ । त्यस वर्ष स्थानीय उत्पादन पर्याप्त भएकाले गोलभेँडालगायतका तरकारी सस्तिएका थिए । तर, यस वर्ष बाह्य आपूर्ति घट्दा केही वस्तुको मूल्य फेरि बढेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १ गते शनिबार