२०८३ वैशाख ४ , शुक्रबार

कर्णाली चलचित्र कार्यशाला सुरु हुने



सुर्खेत ।  कर्णाली प्रदेशको मौलिक कला, संस्कृति र स्थानीय कथालाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यले ‘चौथो कर्णाली चलचित्र कार्यशाला’ आयोजना हुने भएको छ । केवी इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी वैशाख ८ देखि १३ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा कार्यशाला सञ्चालन गरिनेछ । अघिल्ला तीन संस्करणको सफलतापछि यसपटक कार्यशाला अझ परिष्कृत रूपमा पटकथा (स्क्रिप्ट) लेखन र चलचित्र निर्माण प्रक्रियामा केन्द्रित रहने आयोजकले जनाएको छ । नेपाली चलचित्र क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिताले कार्यशालालाई थप स्तरीय बनाउने अपेक्षा गरिएको छ ।

कार्यशालामा विशिष्ट अभिनेता तथा निर्देशक दिनेश डीसीको ‘मास्टर क्लास’ मुख्य आकर्षण रहनेछ। त्यस्तै, चर्चित लेखक तथा निर्देशक शिवम अधिकारीले पटकथा लेखन सम्बन्धी विशेष कक्षा सञ्चालन गर्नेछन् । ख्यातिप्राप्त छायाँकार निरज कँडेलले छायाङ्कनका प्राविधिक तथा प्रयोगात्मक सीप सिकाउनेछन् भने फिल्म सम्पादक रूपेश मिजारले आधुनिक सम्पादन प्रविधिबारे प्रशिक्षण दिनेछन् । कर्णालीका १० वटै जिल्लाबाट छनोट भएका २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहने यस कार्यशालामा सिकाइसँगै व्यवहारिक अभ्यास पनि गराइनेछ । प्रशिक्षण अवधिमा सहभागीहरूले तीन वटा वृत्तचित्र (डकुमेन्ट्री) र दुई वटा लघु चलचित्र (सर्ट फिल्म) निर्माण गर्ने कार्यक्रम रहेको छ ।

आयोजक संस्थाका अध्यक्ष भूपेन्द्रकुमार खड्काका अनुसार यसले कर्णालीमा नयाँ पुस्ताका प्राविधिक तथा कलाकार उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ । चलचित्र विकास बोर्डको सहकार्य र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजना हुन लागेको यो कार्यशालाले कर्णालीलाई ‘फिल्म सुटिङ डेस्टिनेसन’ का रूपमा स्थापित गर्न समेत मद्दत गर्ने अपेक्षा गरिएको छ । भौगोलिक विकटताका बीच लुकेका स्थानीय कथा र दृश्यलाई सिनेमाको माध्यमबाट उजागर गर्दै कर्णालीको सांस्कृतिक पर्यटनमा नयाँ आयाम थपिने विश्वास लिइएको छ

प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार