- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीको तेस्रो दिन पाँच नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। १२ स्वर्णसहित २६ पदक जितेको बागमती प्रदेशले अग्रता कायमै राखेको छ।

सुर्खेत, मंसिर १० । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा तेस्रो दिन बिहीबार पाँच नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। प्रतियोगिताको पदक तालिकामा १२ स्वर्णसहित २६ पदक जितेको बागमती प्रदेशले अग्रता कायमै राखेको छ।
नेपालगञ्ज रंगशालास्थित पौडी पोखरीमा जारी प्रतियोगितामा बागमतीले १२ स्वर्ण, ७ रजत र ७ कास्य गरी कुल २६ पदक जितेको छ। दोस्रो स्थानमा रहेको एनआरएनए टोलीले ९ स्वर्ण, ३ रजत र ३ कास्य गरी १५ पदक प्राप्त गरेको छ।

त्यस्तै, नेपाल आर्मी क्लबले ६ स्वर्ण, १० रजत र १३ कास्य गरी २९ पदकसहित तेस्रो स्थान हासिल गरेको छ। नेपाल पुलिस क्लब ४ स्वर्ण, ११ रजत र १२ कास्य गरी २७ पदकसहित चौथो स्थानमा छ। कोशी प्रदेश दुई स्वर्णसहित पाँचौँ र एक स्वर्ण, तीन रजत तथा एक कास्य गरी पाँच पदक जितेको सुदूरपश्चिम प्रदेश छैटौँ स्थानमा रहेको छ।
पुरुष १०० मिटर बटरफ्लाईमा बागमतीका अभिभ प्रधानले ५८.२२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन्। यसअघि अनुभव सुब्बाको नाममा रहेको ५९.५४ सेकेन्डको कीर्तिमान उनले तोडेका हुन्। यसै स्पर्धामा नेपाल पुलिसका इर्भिन श्रेष्ठले ५९.०४ सेकेन्डमा दूरी पूरा गर्दै रजत जितेका छन्। आर्मीका सौर्यबहादुर सिंहले १ मिनेट ००.५३ सेकेन्डमा दूरी पूरा गर्दै कास्य जिते।

पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै पुरानो कीर्तिमान सुधार गर्दै २ मिनेट ३४.३६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जिते। सुदूरपश्चिमका अर्थभ सिंहले रजत र पुलिसका जडेन श्रेष्ठले कास्य पदक जिते।
पुरुष ५० मिटर ब्याकस्ट्रोकमा बागमतीका अभिभ प्रधानले २८.९५ सेकेन्डको नयाँ कीर्तिमानसहित स्वर्ण जिते। यसअघि उनकै नाममा २८.९९ सेकेन्डको कीर्तिमान थियो। आर्मीका जडेन श्रेष्ठले रजत र बागमतीका रेअन्तबहादुर श्रेष्ठले कास्य जिते।
त्यस्तै, पुरुष ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमतीका रेअन्त श्रेष्ठ, आरिक कर्माचार्य, बशिष्ठ राज शाही र अभिभ प्रधानले ३ मिनेट ४५.७५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते। यसअघि सन् २०२५ मा अभिभ, जडेन, रेअन्त र अल्भिन महर्जनको नाममा ३ मिनेट ४७.७३ सेकेन्डको कीर्तिमान थियो। उक्त स्पर्धामा पुलिसले रजत र आर्मीले कास्य जिते।
बिहीबार सम्पन्न अन्य स्पर्धामा पुरुष ४०० मिटर फ्रिस्टायलमा पुलिसका काल्किन श्रेष्ठले स्वर्ण, मयोन श्रेष्ठले रजत र सुदूरपश्चिमका अर्थभ सिंहले कास्य जिते। महिला २०० मिटर इन्डिभिज्युअल मिडलेमा एनआरएनएकी लिलीले स्वर्ण, आर्मीकी डुअना लामाले रजत र एनआरएनएकी मिखा काया थापाले कास्य जितिन्।
महिला १०० मिटर बटरफ्लाई र २०० मिटर ब्रेस्टस्ट्रोक दुवै स्पर्धामा आर्मीकी डुअना लामाले स्वर्ण जितिन्। १०० मिटर बटरफ्लाईमा एनआरएनएकी लिलीले रजत र पुलिसकी देभान्सीले कास्य जितिन्। २०० मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनएकी लिलीले रजत र आर्मीकी रितिका भूमिले कास्य जितिन्।
महिला ५० मिटर ब्याकस्ट्रोकमा एनआरएनएकी मिखा काया थापाले स्वर्ण, बागमतीकी आर्या महर्जनले रजत र पुलिसकी देभान्सीले कास्य जितिन्।
महिला ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा आर्मीले स्वर्ण, बागमतीले रजत र पुलिसले कास्य जिते। बिहीबारको अन्तिम स्पर्धा ४ गुणा ५० मिटर मिडले रिलेमा पनि आर्मीले स्वर्ण जित्दा बागमतीले रजत र पुलिसले कास्य हात पारेको छ। प्रतियोगिताअन्तर्गत पौडीका खेलहरू जारी छन्।




