
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपाल आर्मी क्लबले विजयी सुरुवात गरेको छ। बिहीबार कालुञ्चोक मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको हो।
टस जितेर पहिले बलिङ रोजेको गण्डकीविरुद्ध आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। आर्मीका कप्तान विनोद भण्डारी र कुशल मल्लले समान ३६ रनको योगदान दिए। त्यस्तै वशिर अहमदले २७ र त्रितराज दासले २४ रन जोडे।

१७८ रनको लक्ष्य पछ्याएको गण्डकी १७ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमा समेटियो। गण्डकीका ईश्वर क्षेत्रीले सर्वाधिक २६ रन बनाउँदा सोहेल कुँवरले २२ र वंश क्षेत्रीले १६ रन बनाए।
आर्मीका तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए। नरेश साउँदले २ तथा कुशल मल्लले १ विकेट लिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका आर्मीका तिलकराज भण्डारी म्यान अफ द म्याच घोषित भए। यस जितसँगै आर्मीले प्रतियोगितामा २ अंक जोडेको छ।






