२०८३ मंसिर ११ , शुक्रबार
दशौँ राष्ट्रिय खेलकुद २०८३

दशौँ राष्ट्रिय खेलकुद : कोशीसँग ४–१ गोलले पराजित भयो लुम्बिनी

मिलन राईको दुई गोलमा कोशीको जित, लुम्बिनी लगातार दोस्रो हारसँगै अंकविहीन


समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • दशौँ राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा कोशी प्रदेशले लुम्बिनीलाई ४–१ गोलले पराजित गरेको छ। मिलन राईले दुई गोल गरे।

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोलले पराजित गरेको छ। शुक्रबार बिहान भएको खेलमा कोशीका लागि मिलन राईले १२औँ र ३२औँ मिनेटमा दुई गोल गरे। अमित सन सतारले १४औँ र सौरभ लिम्बुले ६४औँ मिनेटमा गोल थपे। लुम्बिनीका लागि फागुराम चौधरीले ५९औँ मिनेटमा एक गोल फर्काए।

खेलको ५८औँ मिनेटमा कोशीका प्रकाश भुजेलले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। रातो कार्डका कारण भुजेलले आगामी एक खेल गुमाउने भएका छन्। लुम्बिनीका फागुराम चौधरीले पनि खेलमा पहेँलो कार्ड पाए। यसअघि पहिलो खेलमा समेत पहेँलो कार्ड पाएका चौधरीले दुई पहेँलो कार्ड पूरा गरेपछि आगामी एक खेल खेल्न नपाउने म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिएका छन्।

यस जितसँगै कोशीले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा बागमतीसँग बराबरी खेलेको कोशीले दोस्रो खेलमा जित निकालेको हो। यता, पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको लुम्बिनी लगातार दोस्रो हारसँगै अंकविहीन रहेको छ। प्रतियोगिताअन्तर्गत शुक्रबार दिउँसो २ः३० बजे बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २०८३ मंसिर ११ गते शुक्रबार