२०८३ मंसिर १२ , शनिबार
दशौँ राष्ट्रिय खेलकुद २०८३

दशौं राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले गर्ने

राष्ट्रपतिबाट उद्घाटन गर्ने पुरानो परम्परा तोडिँदै, फुटबलको सेमिफाइनल र फाइनल जुम्लामा हुने


समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • मंसिर १६ गते हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले गर्ने भएका छन्। फुटबलको सेमिफाइनल र फाइनल जुम्लामा खेलाइने मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

सुर्खेत — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यो जानकारी दिएका हुन्।

‘प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री आउनुहुन्छ,’ मन्त्री पोखरेलले भने, ‘उद्घाटनको समय भने १४ गतेपछि मात्रै थाहा हुन्छ।’ उद्घाटनमा प्रधानमन्त्री आउने पक्कापक्की भए पनि समय बिहान वा दिउँसो भन्ने विषयमा यकिन नभएको मन्त्री पोखरेलको भनाइ छ। यसअघिका राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रपतिबाट उद्घाटन गर्ने र प्रधानमन्त्रीबाट समापन गर्ने परम्परा थियो।

यस्तै, मन्त्री पोखरेलले कर्णालीमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु नै ठूलो उपलब्धि भएको बताए। ‘पहिले राष्ट्रिय प्रतियोगिताहरू काठमाडौँमै हुन्थे, यसपालि कम्तीमा कर्णालीमा प्रतियोगिता भएको छ,’ फुटबलको सेमिफाइनल र फाइनल किन जुम्लामा खेलाउन थालिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘जुम्लाका नागरिकलाई पनि न्याय हुने गरी एउटा खेलको फाइनल जुम्लामा गर्नुपरेको हो।’

उद्घाटन हुने मुख्य स्थलमा अन्तिम चरणका प्राविधिक कामहरू भइरहेका छन्। यही मंसिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगिताका खेलहरू भने मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्। प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि आवास व्यवस्थापन लगायतका अन्य विषयमा कुनै कमी नरहेको आयोजकको दाबी छ।

प्रकाशित मिति : २०८३ मंसिर १२ गते शनिबार