- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका फूल कोर्ट र थ्री बाइ थ्री विधामा समान ८ गरी १६ टोली क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। चार टोली प्रतियोगिताबाट बाहिरिएका छन् भने क्वार्टरफाइनल खेल शुक्रबारदेखि सुरु हुनेछन्।

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ १६ टोली क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताका दुई विधा फूल कोर्ट (५×५) र थ्री बाइ थ्री (३×३) तर्फ समान ८–८ टोलीले अन्तिम आठमा स्थान बनाएका हुन्।

राष्ट्रिय बास्केटबलका सिनियर रेफ्री राजेश महर्जनका अनुसार फूल कोर्ट (५×५) तर्फ एपीएफ, गण्डकी, सुदूरपश्चिम, लुम्बिनी, कोशी, बागमती, नेपाल पुलिस र नेपाल आर्मी क्वार्टरफाइनलमा पुगेका छन्।
त्यस्तै, थ्री बाइ थ्री (३×३) तर्फ नेपाल आर्मी, गण्डकी, बागमती, लुम्बिनी, सुदूरपश्चिम, एपीएफ, नेपाल पुलिस र कर्णाली प्रदेश क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

दुवै विधामा गरी चार टोली भने प्रतियोगिताबाट बाहिरिएका छन्। फूल कोर्ट (५×५) तर्फ कर्णाली र मधेस प्रदेश तथा थ्री बाइ थ्री (३×३) तर्फ कोशी र मधेस प्रदेश प्रतियोगिताबाट बाहिरिएका हुन्।
बिहीबार सम्पन्न फूल कोर्ट (५×५) महिलातर्फको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ६७–१९ अंकले पराजित गरेको छ। त्यस्तै, बागमतीले मधेसलाई ४३–५, गण्डकीले कोशीलाई ३३–७ तथा नेपाल आर्मीले लुम्बिनीलाई ८०–२ अंकले हराएको छ।
थ्री बाइ थ्री (३×३) तर्फ एपीएफले कोशीलाई १२–५, कर्णालीले मधेसलाई १६–१, सुदूरपश्चिमले गण्डकीलाई ८–४ तथा नेपाल पुलिसले लुम्बिनीलाई ५–१ अंकले पराजित गरेका छन्। महिला बास्केटबलका क्वार्टरफाइनल खेल शुक्रबारदेखि सुरु हुनेछन्।





