२०८३ वैशाख ८ , मंगलबार

अवसर पाए कर्णालीका छोरीले खेलमार्फत देशको नाम चम्काउन सक्छन् : सिर्जना सिंह



सुर्खेत । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सिर्जना सिंहले महिलालाई खेलकुद क्षेत्रमा स्थापित हुन निकै संघर्ष गर्नुपर्ने बाध्यता रहेको बताएकी छन् । शक्ति र अवसरका माध्यमबाट महिला सशक्तीकरणका क्षेत्रमा काम गर्ने संस्था हिमशक्ति फाउण्डेशनका अध्यक्षसमेत रहेकी सिंहले खेलकुद र गुणस्तरीय शिक्षाको सन्तुलन र नेपाली समाजमा जरो गाडेको लैंगिक विभेद, खेल पूर्वाधारको अभाव र महिला प्रशिक्षकहरूको न्यूनता जस्ता चुनौती झेल्नु परेको बताइन ।

सोमबार वीरेन्द्रनगरमा फाउण्डेशनले आयोजना गरेको पत्रकार भेटघाटमा सिंहले खेल क्षेत्रमा प्रतिवान महिला खेलाडी उत्पादनमा आफुले काम गरिरहेको बताइन । संस्थाले महिला खेलाडी उत्पादन गर्न विभिन्न कामहरु गर्ने उनको भनाई छ । कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटबाट अवसरको अभाव, सामाजिक कुरीति र लैङ्गिक विभेदका बीच हुर्किएकी उनले राष्ट्रिय टोलीसम्म पुग्न निकै संघर्ष गरेको अनुभूति सुनाइन ।

‘१४/१५ वर्षमै विवाह हुने चलन, सपना देख्न डराउने किशोरीहरू र अवसरको अभाव । सरकारी विद्यालयमा पढ्दा दैनिक दुई घण्टा पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता थियो । अंग्रेजी भाषा र खेलकुदबारे कुनै जानकारी नभएको अवस्थामा पनि मैले समपना देखे र यो स्थानसम्म आइपुगे,’ उनले भनिन् ।

उनले अगाडि थपिन, ‘सुरुवाती दिनहरू निकै कठिन थिए ।  न पर्याप्त उपकरण, न प्रशिक्षक, न व्यवस्थित मैदान । ढुंगालाई ‘कोण’ बनाएर खेल्ने, घण्टौँ पैदल हिँडेर अभ्यासमा जाने जस्ता व्यवधान बिच मैले आफ्‌नो लक्ष्य छोडिन । जसका कारण केही वर्षमै विद्यालयस्तरीय खेल हुँदै राष्ट्रिय स्तरसम्म पुग्न सफल भएँ ।’ उनले १८ वर्षमुनिको प्रतियोगितामा भुटानमा आयोजित साउथ एसिएन गेममा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेकी थिइन ।

त्यसपछि उनले नेपालको राष्ट्रिय महिला फुटबल टोलीमा डेब्यु गर्दै देशको प्रतिनिधित्व गर्ने अवसर पाइन् । सिर्जनाका अनुसार, महिला खेलाडीलाई अझै पनि परिवार र समाजबाट पूर्ण समर्थन पाइँदैन । खेल्न चाहने धेरै दिदीबहिनीहरू सामाजिक डर र पूर्वाग्रहका कारण पछाडि हट्न बाध्य भएको उनले बताइन । उनले थपिन्, भनिन्, ‘खेलकुदमा लाग्ने महिलाका लागि सुरक्षित वातावरण, महिला प्रशिक्षक, र पर्याप्त पूर्वाधार अत्यावश्यक छ ।

यी आधारभूत कुराहरू नहुँदा प्रतिभाशाली खेलाडीहरू ओझेलमा छन् ।’ उनले नेपालमा महिला खेलकुदको विकासका लागि नीतिगत सुधार, लगानी, र सामाजिक सोचमा परिवर्तन अपरिहार्य रहेको बताइन । ‘अवसर र समर्थन पाए, कर्णालीजस्ता दुर्गम क्षेत्रका छोरीहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चम्काउन सक्छन्,’ उनले भनिन् ।

प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार