२०८३ असार ३० , मंगलबार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप आयोजना हुँदै



सुर्खेत ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका खेल प्रतिभालाई उजागर गर्ने उद्देश्यले भक्तपुरमा प्रथम कर्णाली फुटसल कप–२०८३ आयोजना हुने भएको छ । नेपाल अर्गानिक घर (Nepal Organic Ghar) को मुख्य प्रायोजनमा आयोजना हुन लागेको प्रतियोगिताले दुई प्रदेशका खेलाडीबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै फुटसल खेलको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकले जनाएको छ ।

आयोजक टिमका मनाेज शाहीका अनुसार प्रतियोगितामा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका फुटसल तथा फुटबल खेलाडी, क्लब र खेलप्रेमीलाई सहभागिताका लागि आह्वान गरिएको छ । उत्कृष्ट खेल प्रदर्शन गर्ने उद्देश्यसहित आफ्नो टिम बनाएर प्रतियोगितामा सहभागी हुन खेलाडी तथा क्लबहरूलाई आग्रह गरिएको छ । प्रतियोगिता भक्तपुरको निकोसेरास्थित होप राइज फुटसल (Hope Rise Futsal) मा २०८३ साल साउन ११ र १२ गते सञ्चालन हुनेछ । प्रतियोगिता बिहान सात बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले पाँच हजार पाँच सय ५५ रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । प्रतियोगिताको विजेता टोलीलाई नगद ५५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्मान गरिनेछ भने उपविजेता टोलीले २५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । आयोजकले प्रतियोगितामार्फत कर्णाली र सुदूरपश्चिम क्षेत्रका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुद क्षेत्रमा आपसी सम्बन्ध र सहकार्य विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

फुटसल खेलप्रति युवाहरूको आकर्षण बढिरहेको अवस्थामा आयोजना हुन लागेको यस प्रतियोगिताले नयाँ खेल प्रतिभाको पहिचान गर्न र खेलाडीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने टिमले संगम शाही (९८४३८६२५६२), स्वदेश शाही (९८६५१३८४१५) र भुवन शाही (९८६९४६६६८१) लाई सम्पर्क गरी टिम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । आयोजकले सम्पूर्ण खेलाडी, क्लब तथा खेलप्रेमीलाई प्रतियोगितामा सहभागी भई खेल भावना र प्रतिभाको प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार