कर्णालीमा पर्यटनसँग जोडिएका व्यवसायमा निजी क्षेत्रको आकर्षण बढ्दै जानु सकारात्मक संकेत हो । फनपार्क, रिभर गाइड र ट्राभल एजेन्सीजस्ता व्यवसाय सञ्चालनका लागि अनुमति लिनेको संख्या बढ्नुले कर्णालीको पर्यटन सम्भावनाप्रति निजी क्षेत्रको विश्वास विस्तार हुँदै गएको देखाउँछ । तर व्यवसायको संख्या बढ्दैमा मात्रै कर्णालीको पर्यटनले अपेक्षित आर्थिक गति लिन सक्दैन । रारा, शे–फोक्सुन्डो, काँक्रेविहार, कर्णाली नदी, सिंजा, पचाल झरना, बुलबुले, मानसरोवर यात्रा तथा असंख्य धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा कर्णालीका अमूल्य पर्यटन सम्भावना हुन् । समस्या गन्तव्यको अभाव होइन ती गन्तव्यसम्म पर्यटकलाई सहज रूपमा पु¥याउने र पुगेपछि केही दिन कर्णालीमै रोक्ने वातावरणको अभाव हो ।

यसका लागि सबैभन्दा पहिले पूर्वाधारमा ध्यान दिनुपर्छ । सडक र हवाई पहुँच सहज, भरपर्दो र सुरक्षित हुनुपर्छ । पर्यटकीय गन्तव्यमा खानेपानी, सरसफाइ, सञ्चार, स्वास्थ्य, सुरक्षा र गुणस्तरीय आवासको व्यवस्था हुनुपर्छ । केवल गन्तव्यको प्रचार गरेर पर्यटक बोलाउने तर गन्तव्यमा पुगेपछि आधारभूत सुविधा नपाउने अवस्था अन्त्य गर्न आवश्यक छ । त्यसैगरी कर्णालीको पर्यटनलाई केही चर्चित गन्तव्यमा मात्र सीमित राख्नु हुँदैन । धार्मिक, सांस्कृतिक, साहसिक, प्रकृति, कृषि तथा सामुदायिक पर्यटनलाई एउटै पर्यटन सञ्जालमा जोड्न सक्नुपर्छ । रारा वा शे–फोक्सुन्डो पुगेको पर्यटकलाई अन्य गन्तव्यसम्म लैजाने प्याकेज विकास गर्न सके पर्यटकको बसाइ अवधि बढाउन सकिन्छ ।
पर्यटनलाई होटल र ट्राभल एजेन्सीको व्यवसायका रूपमा मात्रै बुझ्नु अर्को कमजोरी हुनेछ । पर्यटनसँग स्थानीय कृषि, हस्तकला, घरेलु उत्पादन, यातायात, कला–संस्कृति र रोजगारीलाई जोड्नुपर्छ । स्थानीय उत्पादनलाई पर्यटक बजारसँग जोड्न सके गाउँका किसान, महिला समूह, युवा र साना उद्यमीले समेत पर्यटनबाट प्रत्यक्ष लाभ लिन सक्छन् । निजी क्षेत्र पर्यटनमा प्रवेश गरिरहेको अवस्थामा सरकारले नियमन गर्ने मात्र होइन, सहजीकरण गर्ने भूमिका पनि निर्वाह गर्नुपर्छ । लगानीमैत्री वातावरण, व्यवसाय दर्ता तथा अनुमति प्रक्रियामा सहजता, दक्ष जनशक्ति उत्पादन, पर्यटन प्रवद्र्धन र बजार विस्तारका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । कर्णाली सरकारले पर्यटनलाई समृद्धिको आधार मान्ने हो भने अब नाराभन्दा परिणाम देखिने नीति आवश्यक छ । पर्यटकको संख्या मात्र गन्ने होइन, उनीहरू कति दिन बसे, कति खर्च गरे, स्थानीय समुदायले कति आम्दानी गरे र कति रोजगारी सिर्जना भयो भन्ने सूचकबाट पर्यटनको सफलता मापन गर्नुपर्छ ।
कर्णालीमा निजी क्षेत्रको बढ्दो आकर्षण अवसर हो । तर यो अवसरलाई दिगो आर्थिक विकासमा बदल्ने जिम्मेवारी सरकार, निजी क्षेत्र र स्थानीय समुदाय सबैको हो । कर्णालीलाई पर्यटक आउने प्रदेश मात्र होइन, पर्यटक बस्ने, खर्च गर्ने र फेरि फर्केर आउन चाहने प्रदेश बनाउन सक्नुपर्छ । अबको पर्यटन नीति स्पष्ट हुनुपर्छ, पर्यटक बोलाउने मात्र होइन, कर्णालीमा रोक्ने र उनीहरूले खर्च गरेको रकम स्थानीय अर्थतन्त्रमा पु¥याउने यही बाटोले मात्र कर्णालीको विशाल पर्यटन सम्भावनालाई वास्तविक समृद्धिमा बदल्न सक्छ ।








