कर्णालीमा खेतीयोग्य जमिन कम छ, खेती गरेर परिवार धान्न कठिन छ र कृषि पेसाबाट आम्दानी हुँदैन भन्ने भाष्य सुनिँदै आएको छ । तर दैलेखको भैरवी गाउँपालिका–३ का किसानले आफ्नै माटोबाट त्यसको जवाफ दिइरहेका छन् । थोरै जमिनमा तरकारी खेती गरेर घरखर्च चलाउने, छोराछोरी पढाउने र ऋण तिर्नेसम्मको आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनीहरुले प्रस्तुत गरेका छन् । यो केवल केही किसानको सफलता मात्र नभई कर्णालीको कृषिमा देखिएको सम्भावना पनि हो ।

भैरवी–३ मा करिब ९० घरपरिवार व्यावसायिक तरकारी खेतीमा जोडिनु आफैंमा महत्वपूर्ण संकेत हो । निर्वाहमुखी खेतीबाट व्यावसायिक उत्पादनतर्फ किसानको आकर्षण बढ्नुले गाउँमै रोजगारी र आम्दानीको सम्भावना रहेको देखाउँछ । आफ्नो बारीमा श्रम गर्ने, उत्पादन गर्ने र बजारमा बिक्री गरेर नगद आम्दानी गर्ने प्रणालीले किसानलाई आत्मनिर्भर बनाउन सक्छ । यसले गाउँबाट रोजगारी खोज्दै शहर वा विदेश जाने बाध्यतालाई समेत केही हदसम्म रोक्न सक्ने आधार तयार गर्छ । तर एउटा गाउँका किसानहरुको सफलताले मात्रै कर्णालीको कृषि समस्या समाधान हुँदैन । किसानले उत्पादन गर्न सक्छन् कि सक्दैनन् भन्ने भन्दा पनि उनीहरुले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउँछन् कि पाउँदैनन् भन्ने हो । किसानको बारीमा उत्पादन राम्रो भयो, तर बजारमा मूल्य पाएन भने त्यो उत्पादनले किसानको जीवन बदल्न सक्दैन ।
कृषकलाई व्यावसायिक खेतीमा लाग्न आग्रह गर्ने सरकार र सम्बन्धित निकायले अब उत्पादनपछिको अवस्थाबारे पनि गम्भीर हुनुपर्छ । गुणस्तरीय बीउ कहाँबाट ल्याउने, मल र औषधि समयमा कसरी उपलब्ध गराउने, रोग तथा कीरा नियन्त्रणका लागि प्राविधिक सेवा कसरी पु¥याउने, सिँचाइको व्यवस्था कसरी गर्ने र उत्पादित वस्तु बजारसम्म कसरी पु¥याउने भन्ने प्रश्नको उत्तर राज्यसँग हुनुपर्छ । किसानलाई उत्पादन गर्न लगाएर बजारको जिम्मा उसैलाई छाड्ने हो भने व्यावसायिक कृषि दिगो हुन सक्दैन ।
कर्णालीमा कृषिका नाममा वर्षेनि बजेट विनियोजन हुन्छ । अनुदानका कार्यक्रम सञ्चालन हुन्छन् । कृषि उपकरण वितरण गरिन्छन् । तर यस्ता कार्यक्रमले किसानको वास्तविक उत्पादन र आम्दानीमा कति वृद्धि ग¥यो भन्ने मूल्यांकन आवश्यक छ । अनुदान वितरणको संख्या होइन, त्यसबाट सिर्जित उत्पादन, रोजगारी र किसानको आम्दानीलाई उपलब्धिको आधार बनाउनुपर्छ ।
स्थानीय सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । गाउँमा उत्पादन हुने तरकारीको बजार स्थानीय तहभित्रै विस्तार गर्न सकिन्छ । विद्यालय, अस्पताल, होटल तथा अन्य
संस्थागत उपभोक्तालाई स्थानीय उत्पादनसँग जोड्न सकिन्छ । किसानका लागि संकलन केन्द्र, भण्डारण र ढुवानीको व्यवस्था गर्न सकिन्छ । यसो गर्न सके किसानले बिचौलियाको भर पर्नुपर्ने अवस्था घट्न सक्छ र उपभोक्ताले पनि स्थानीय उत्पादन सहज रुपमा पाउन सक्छन् । कर्णालीको कृषि विकासका लागि सबै ठाउँमा विशाल खेती प्रणाली आवश्यक छैन । यहाँको भौगोलिक अवस्था हेर्दा साना किसान, साना बारी र उच्च मूल्यका कृषि उत्पादनमा आधारित खेती प्रभावकारी हुन सक्छ । तरकारी, फलफूल, मसला, जडीबुटी तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्न सकिए सानो जमिन पनि परिवारको बलियो आयस्रोत बन्न सक्छ ।







