२०८३ असोज १२ , सोमबार
फ्रन्ट पेज

गत साउनयता हालसम्म कर्णालीमा विपद्का १७५ घटना, १० जनाको मृत्यु



सुर्खेत । गत शुक्रबार रातिको अविरल वर्षाका कारण गोठमाथिबाट खसेको ढुंगाले लाग्दा डोल्पामा एक जनाको मृत्यु भयो । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१, खलवलगाडाका ३८ वर्षीय मनरूप केसी छन् । गोठमाथिको भिरबाट खसेको ढुंगाले टाउको र छातीमा चोट लागेका केसीलाई उपचारका लागि स्वास्थ्यचौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । गत साउन ३० गते जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ बस्तीमा ठूलो पहिरो आयो । पहिरोमा परी चार जनाले ज्यान गुमाए भने १० जना घाइते भए । १३ घरपरिवार पूर्ण रूपमा प्रभावित भए ।

यस्ता घटना कर्णालीमा पछिल्लो समय निरन्तर भइरहेका छन् । कर्णाली प्रदेशमा गत साउनयता विपद्का १७५ घटना भएका छन् । ती घटनामा १० जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । दुई जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार विपद्का कारण १५२ घरधुरी विस्थापित भएका छन् । १४९ घरधुरीका ८२४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विपद्का घटनामा १२६ पशुचौपायाको समेत मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी सन्तोषसिंह राठौरले दिएको जानकारीअनुसार विपद्का घटनामा २२ घर पूर्ण रूपमा क्षति भएका छन् भने ७२ घरमा आंशिक क्षति पुगेको छ । २१ गोठ तथा टहरा पूर्ण रूपमा क्षति भएका छन् भने सातवटामा आंशिक क्षति पुगेको छ । २१ उद्योग तथा कारखानामा पूर्ण रुपमा क्षति भएको छ । विपद्का घटनामा ५१ लाख ४६ हजार ९ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको राठौरले जानकारी दिए ।

तीन दिनको वर्षाले सडकदेखि बस्ती प्रभावित

असोज ८ गते बेलुकादेखि लगातार परेको वर्षाका कारण कर्णालीका विभिन्न सडकखण्डमा पहिरो खस्दा यातायात प्रभावित भएको छ । कर्णाली करिडोर, कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग, राप्ती राजमार्ग, सुर्खेत–सल्यान सडक र लुहाम–कालीमाटी सडकखण्डका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको एसएसपी राठौरले जानकारी दिए ।

हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला तथा एस मोड र सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो गएपछि कर्णाली करिडोर तथा कर्णाली राजमार्ग अवरुद्ध भएका थिए । कालीकोटकै तिलागुफा नगरपालिका–१ भिग्मा, जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीर, जुम्लाको तातोपानी क्षेत्र तथा मुगुको पिना क्षेत्रमा पनि सडकमा पहिरो खसेर आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमको सानीभेरी क्षेत्रमा मध्यपहाडी राजमार्ग र सल्यानको कपुरकोट क्षेत्रमा राप्ती राजमार्ग पनि पहिरोका कारण प्रभावित भएका थिए । पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको जोखिम बढेपछि कर्णालीमा लामो दूरीका सवारीसाधन सञ्चालनमा रोकसमेत लगाइएको थियो । सुर्खेत, नेपालगन्जबाट जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट, डोल्पा, सल्यान र रुकुमतर्फ जाने लामो दूरीका सवारीसाधन प्रभावित भएका थिए । छोटो दूरीका स्थानीय सवारी भने सडकको अवस्था हेरेर सञ्चालन गरिएको प्रहरीले जनाएको थियो ।

एक दशकमा ६१९ जनाको मृत्यु

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार २०७२ देखि २०८१ सम्मको दश वर्षको अवधिमा विपद्का घटनामा परी ६१९ जनाको मृत्यु भएको थियो । यस अवधिमा ६८ जना बेपत्ता भएका थिए भने एक हजार २६६ जना घाइते भएका थिए ।

जिल्लागत रुपमा सबैभन्दा बढी जाजरकोटमा १८४ जनाको मृत्यु भएको तथ्यांक छ । रुकुममा ९२, कालीकोटमा ८४, जुम्लामा ४७, हुम्लामा ४६, सल्यानमा ३९, दैलेखमा ३६, डोल्पामा ३५ र सुर्खेतमा ३० जनाको मृत्यु भएको थियो । मुगुमा २६ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रकोपका आधारमा हेर्दा पहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको थियो । दश वर्षमा पहिरोबाट १८० जनाको मृत्यु भएको प्रदेश सरकारका विपद् सहजकर्ता उज्वल अधिकारीले जानकारी दिएका छन् । भुकम्पबाट १५४, आगलागीबाट ६४, चट्याङबाट ४६, बाढीबाट ३९, महामारीबाट ३४, लेक लागेर २५, वन डढेलोबाट १५, डुबेर १४ र भारी वर्षाका कारण १३ जनाको मृत्यु भएको तथ्यांक छ ।

दश वर्षको अवधिमा विपद्का कारण झण्डै साढे तीन अर्ब रुपैयाँ बराबरको आर्थिक तथा भौतिक क्षति भएको छ । त्यसमध्ये भूकम्पबाट मात्रै दुई अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको क्षति भएको तथ्यांकमा उल्लेख छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको थियो ।

पहिरोको जोखिममा सयौं बस्ती

कर्णालीको भौगोलिक अवस्थाका कारण पहिरो र बाढीको जोखिम वर्षायाममा अझ बढ्ने गरेको छ । तत्कालीन कर्णाली विकास आयोगले साविक कर्णालीका चार जिल्लामा गरेको अध्ययनले ३१८ वटा गाउँबस्ती असुरक्षित रहेको देखाएको थियो । अध्ययन गरिएका एक हजार २५ गाउँमध्ये ७०४ गाउँ अर्थात् ६९ प्रतिशत सामान्य रुपमा सुरक्षित देखिएका थिए भने ३१८ गाउँ अर्थात् ३१ प्रतिशत उच्च जोखिममा रहेको पाइएको थियो । तीमध्ये अधिकांश बस्ती पहिरोका कारण असुरक्षित रहेको अध्ययनमा उल्लेख थियो । प्राकृतिक रुपमा भिरालो भूगोल, बाढी–पहिरो र नदी कटानलाई जोखिमका प्रमुख कारणका रुपमा औँल्याइएको थियो ।

एसएसपी राठौरका अनुसार कर्णालीमा नदी तथा मुख्य जलाधारबाट आउने बाढी र डुबानका घटना पनि बर्सेनि दोहोरिने गरेका छन् । प्रदेशका १० जिल्लामध्ये सुर्खेत बाढी र डुबानको बढी जोखिममा रहेको उनले जानकारी दिए ।प्रदेश सरकारले तयार पारेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ ले पनि कर्णालीलाई बहुप्रकोपको उच्च जोखिममा रहेको उल्लेख गरेको छ । योजनामा जटिल भूसंरचना, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता तथा जलवायु परिवर्तनका कारण कर्णाली बहुप्रकोपको उच्च जोखिममा रहेको उल्लेख छ ।

कर्णालीमा भूकम्प, पहिरो, आगलागी, चट्याङ, बाढी र महामारीसँगै नदी कटान, डुबान, भूक्षय, वन्यजन्तुको आक्रमण, असिना र हुरीबतासलगायतका घटनाबाट पनि जनधनको क्षति हुने गरेको छ । वर्षा सुरु हुनेबित्तिकै पहिरो र बाढीका घटना दोहोरिनु, सडक अवरुद्ध हुनु तथा बस्ती विस्थापित हुनुले कर्णालीमा विपद् व्यवस्थापनसँगै जोखिमयुक्त बस्तीको पहिचान, पूर्वसूचना र सुरक्षित स्थानान्तरणको आवश्यकता पनि देखाएपनि प्रदेश सरकारले ठोस पहल नगर्दा वर्षेनी विपद् जोखिम हुने गरको छ ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमबार