२०८३ असोज १२ , सोमबार

कांग्रेस सुर्खेत–२ को क्षेत्रीय अधिवेशनलाई लिएर विवाद, अधिवेशन रोक्न धर्ना र तालाबन्दी गरेको आरोप



सुर्खेत । नेपाली कांग्रेस सुर्खेत निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनलाई लिएर पार्टीभित्र विवाद देखिएको छ । क्षेत्रीय सभापति इन्द्रबहादुर रावलको संयोजकत्वमा अधिवेशन रोक्न माग गर्दै धर्ना, प्रदर्शन तथा तालाबन्दी गरिएको भन्दै वीरेन्द्रनगर–३ की वडा सभापति सरस्वती थापा रोकायले आपत्ति जनाएकी छन् ।


रोकायले क्रियाशील सदस्य तथा क्षेत्रीय प्रतिनिधिको अधिकार कुनै व्यक्ति वा समूहको असहमति र दबाबका कारण प्रभावित हुन नहुने उल्लेख गरेकी छन । अधिवेशन प्रक्रियामा चित्त नबुझेका विषय भए पार्टीको विधान र निर्वाचन प्रक्रियाअनुसार सम्बन्धित निकायमा प्रश्न उठाउन सकिने उनको भनाइ छ ।

उनले क्षेत्रीय सभापति जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले नै क्षेत्रीय अधिवेशन रोक्न माग गर्दै धर्ना तथा प्रदर्शनको संयोजकत्व गर्नु उचित नभएको दाबी गरेकी छन् ।

‘असहमति राख्ने, प्रश्न गर्ने र विरोध गर्ने अधिकार सबैलाई भए पनि निर्वाचन प्रक्रिया रोक्न दबाब दिने अवस्था सिर्जना हुनु गम्भीर विषय हो,’ रोकायको भनाइ छ ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आधिकारिक कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा कार्यसमिति निर्वाचन असोज ३ गतेका लागि तोकिएको थियो ।

यस्तै,कांग्रेस केन्द्रीय कार्यसमितिले वर्षाका कारण अधिवेशन प्रक्रियामा कठिनाइ भएको भन्दै असोज १० का लागि तोकिएका प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका कार्यक्रम मौसम अनुकूल भएका क्षेत्रमा तोकिएकै मितिमा र प्रतिकूल भएका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रीय कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमबार