२०८३ असोज १२ , सोमबार

देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान



काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए पनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ। मौसम विज्ञान विभागकाअनुसार आइतवारसम्म पश्चिम नेपालमा भारी वर्षाको सम्भावना कायम नै रहेको छ।

पश्चिमी भूभागतर्फ भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्ले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् । नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेकाअनुसार पछिल्लो समय गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली तथा कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, लुम्बिनी प्रदेशका तराईका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीसमेत चल्न सक्ने पूर्वानुमान गरिएको छ।

आइतबार राति सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ।

रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार