प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतका बीचमा भएका विभिन्न सन्धि सम्झौताहरूलाई परिमार्जन गर्नेगरी अगाडी बढ्ने समझदारी भएको बताएका छन्।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटको सम्बन्धमा उठेका प्रश्नका जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपाल र भारतका प्रधानमन्त्रीबिच भएको भेटवार्तामा १९५० को सन्धि, शान्ति तथा मैत्री सन्धि लगायत विद्यमान द्विपक्षिय सन्धि सम्झौताहरूलाई परिमार्जन र अद्यावधिक गर्ने समझदारी भएको बताए।
उनले यसका लागि सीमा सम्बन्धी विषयलाई स्थापित कुटनीतिक संयन्त्रहरूमार्फत समाधान गर्नेगरी अगाडी बढ्ने समझदारी भएको पनि जानकारी दिए।
प्रधानमन्त्री दाहालले आफ्नो पछिल्लो भारत भ्रमणको क्रममा पनि यो विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा भएको र मोदीले सकारात्मक रुपमा लिएको बताए।
प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षमा नेपाली दुतावास रियाद र क्यानबेरामा भवन निर्माणको काम शुरु गर्नेगरी बजेटको व्यवस्था गरिएको बताए।
त्यस्तै अन्य मुलुकमा रहेका जग्गामा समेत भवन निर्माण गर्न मन्त्रालयले प्राथमिकतामा राखेको उनले बताए।








