सुर्खेत। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी र व्यवस्थित बनाउँदै प्रचार–प्रसारलाई तीव्रता दिने उद्देश्यले कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न गतिविधि अघि बढाएको छ ।

प्रतियोगिताप्रति अपनत्व र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले परिषद्ले आफ्ना पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा खेलकुद क्षेत्रका सरोकारवालाहरूलाई प्रतियोगितासँग सम्बन्धित स्मरणिका सामग्री वितरण गरेको छ। यसै अवसरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रतियोगिताको तयारी, प्रचार–प्रसार, व्यवस्थापन तथा सफल आयोजनाका विभिन्न पक्षमा छलफल गरिएको थियो ।
त्यस्तै प्रतियोगिताको तयारीलाई थप प्रभावकारी बनाउन कर्णाली प्रदेश खेलकुद संघका पदाधिकारी तथा प्रशिक्षकहरूसँग छुट्टै छलफल बैठकसमेत सम्पन्न भएको छ । परिषद्का उपाध्यक्ष प्रमोद हमालको अध्यक्षतामा बसेको बैठकमा प्रतियोगिताको तयारी, व्यवस्थापन, बन्द प्रशिक्षण, खेलाडीहरूको सहभागिता तथा खेलकुद क्षेत्रका समसामयिक विषयमा छलफल र सुझाव आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा परिषद्का सदस्य–सचिव रवीन्द्र चन्दले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि गौरव, प्रतिष्ठा र अवसरको विषय भएको बताए । उनले प्रतियोगिताको सफल आयोजनाका लागि सम्पूर्ण कर्णालीवासीको साथ, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
प्रतियोगितालाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक योगदान गर्न आग्रह गर्दै उनले दशौँ राष्ट्रिय खेलकुदलाई आफ्नो गौरव र अपनत्वको विषयका रूपमा ग्रहण गर्न कर्णालीवासीमा अपिल गरे। प्रतियोगिताको स्वागत तथा सफल आयोजनाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
परिषद्ले प्रतियोगिताको तयारी, व्यवस्थापन र प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउँदै खेलाडी, प्रशिक्षक, खेलकुद संघ तथा आम कर्णालीवासीको सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ ।








