काठमाडौं । दक्षिण–पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा फसाइएका ८६० जना नेपाली नागरिकको उद्धार गरिएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा हालसम्म कम्बोडिया, म्यानमार, लाओस तथा थाइल्यान्डको सीमा क्षेत्रमा रहेका अनलाइन ठगी केन्द्रबाट ८६० जना नेपालीको उद्धार गरिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार अनलाइन स्क्यामिङमा नेपाली नागरिक ठगिने र विभिन्न स्थानमा अलपत्र पर्ने क्रम अझै पूर्ण रूपमा रोकिएको छैन । समस्यामा परेका नागरिक तथा उनीहरूका आफन्तले मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली दूतावासमा सम्पर्क गरिरहेका छन् ।
सम्पर्कमा आएका अलपत्र नेपाली नागरिकलाई सुरक्षित रूपमा उद्धार गरी स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले रोजगारी तथा अन्य अवसरको नाममा दिइने झुटा प्रलोभनमा नपर्न र विदेशमा गैरकानुनी गतिविधिमा संलग्न नहुन नागरिकलाई आग्रह गरेको छ ।








