२०८३ कात्तिक १३ , शुक्रबार

आजदेखि काठमाडौं चलचित्र महोत्सव, शबाना आजमीसहित विदेशी चलचित्रकर्मी सहभागी हुँदै



काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा तीनदिने ‘काठमाडौं चलचित्र महोत्सव’ आज (शुक्रबार)देखि सुरु हुँदैछ। महोत्सवमा भारतीय चर्चित अभिनेत्री शबाना आजमीसहित विभिन्न देशका चलचित्र निर्देशक, प्राध्यापक तथा फिल्म प्रोग्रामर सहभागी हुने भएका छन्।

कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा सांघाई फिल्म एकेडेमी तथा फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डिकुन्हालगायत स्वदेशी तथा विदेशी चलचित्रकर्मीको सहभागिता रहनेछ। काठमाडौंको ऐतिहासिक पहिचान, मौलिकता, कला, संस्कृति, परम्परा तथा मूर्त, अमूर्त र अभिलेखीय सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले पत्रकार सम्मेलनमार्फत महोत्सवको उद्देश्य, कार्यक्रम र तयारीबारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सव काठमाडौंको कला, संस्कृति र सम्पदालाई चलचित्रका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा चिनाउने महत्त्वपूर्ण अवसर भएको बताइन्। काठमाडौंभित्रै रहेका तर ओझेलमा परेका कथाको खोजी गर्नुका साथै यहाँका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको सौन्दर्य र गरिमा विश्वसामु पु¥याउन महोत्सवले सहयोग गर्ने उनको भनाइ छ।

महोत्सवमा सहभागी विदेशी चलचित्रकर्मीले नेपाली कलाकार, चलचित्रकर्मी तथा सिर्जनात्मक उद्योगसँग आबद्ध व्यक्तित्वसँग अन्तरसंवाद, प्यानल छलफल र मास्टर क्लासमा सहभागिता जनाउनेछन्। उद्घाटन समारोह, रेड कार्पेट, पुराना नेपाली चलचित्रको प्रदर्शन तथा अन्तर्राष्ट्रिय चलचित्रको प्रदर्शनी महोत्सवका मुख्य आकर्षण रहनेछन्।

महोत्सवअन्तर्गत भारतीय अभिनेत्री शबाना आजमीले कात्तिक १४ गते पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक अन्तरसंवादमा सहभागिता जनाउने कार्यक्रम छ। त्यस्तै, भारतीय फिल्म प्रोग्रामर दीप्ति डिकुन्हाले ‘सिर्जनात्मक सहरहरूको प्रवद्र्धनका लागि फिल्म र महोत्सव’ विषयक प्यानल छलफलमा आफ्ना अनुभव प्रस्तुत गर्नेछिन्।

जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुराले कात्तिक १४ गते राष्ट्रिय सभागृहमा यामागाता युनेस्को फिल्म सिटी सट्र्ससम्बन्धी परिचयात्मक प्रस्तुति दिनेछन्। कात्तिक १५ गते पर्यटन बोर्डमा विशिष्ट प्राध्यापक मार्को मुलरले ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवमा फिल्म सौन्दर्यशास्त्रको महत्त्व’ विषयमा मास्टर क्लास सञ्चालन गर्नेछन्। सोही दिन नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्यबारे प्यानल छलफलसमेत हुनेछ।

महोत्सवको पहिलो दिन कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्रा र उद्घाटन समारोह आयोजना हुनेछ। समापनका दिन कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट तथा अवार्ड समारोह हुनेछ। सो अवसरमा पुरानो नेपाली चलचित्र ‘के घर, के डेरा’ प्रदर्शन गरिनेछ। नेपाली चलचित्रको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले ‘कुमारी’ चलचित्रको विशेष प्रदर्शनसमेत गरिने आयोजकले जनाएको छ।

महोत्सवमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका फिचर फिल्म, कथानक चलचित्र, वृत्तचित्र तथा छोटा चलचित्र प्रदर्शन गरिनेछन्। ‘इन्टरनेसनल प्यानोरामा’ विधाअन्तर्गत सशक्त कथावस्तु, मौलिक सिर्जनात्मक अभिव्यक्ति र विशिष्ट सांस्कृतिक दृष्टिकोण प्रस्तुत गर्ने समकालीन तथा स्वतन्त्र चलचित्रलाई प्राथमिकता दिइएको छ। त्यस्तै, ‘नेपाल प्यानोरामा सट्र्स’ विधाअन्तर्गत स्थानीय नवप्रतिभाले निर्माण गरेका छोटा चलचित्र प्रदर्शन गरिनेछन्। खुला आह्वानमार्फत प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको महानगरपालिकाले जनाएको छ।

छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ। युवा लक्षित ‘माई कल्चर, माई हेरिटेज’ अर्थात् ‘मेरो संस्कृति, मेरो सम्पदा’ शीर्षकको पाँच मिनेटसम्मका छोटा भिडियो प्रतिस्पर्धामा प्राप्त ३५ भिडियोमध्ये ११ वटा छनोट भएका छन्। यस विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

‘नेपाल प्यानोरामा सट्र्स’ विधामा सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बुको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङको ‘अ लेटर इन विन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा ः अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्स ः अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मारिछा’ छनोट भएका छन्।

त्यस्तै, ‘माई कल्चर, माई हेरिटेज’ विधामा शैलेश हमालको ‘ह्याप्पिनेस’, धृतिका तिवारीको ‘बगैँचा जस्तै सहर’, करन ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा ः द बिगेस्ट फेस्टिभल अफ काठमाडौं’, सौगात सापकोटाको ‘झिँगु छेँ (माइ होम)’, नर्जुङ बुढाथोकीको ‘बिहाइन्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, जीवन सुनुवारको ‘भकुण्डे भूत’, क्रिमिन तुलाधरको ‘सचिका ः अ थ्रेड द्याट टाइज यु होम’, अनुभव श्रेष्ठको ‘द सोल अफ गुठी’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ प्रदर्शनका लागि छनोट भएका छन्।

महोत्सवको ‘इन्टरनेसनल प्यानोरामा’अन्तर्गत जय नेपाल सिनेमा घरमा विभिन्न देशका चलचित्र प्रदर्शन गरिनेछन्। प्रदर्शन हुने चलचित्रमा लान हङचाउ निर्देशित चिनियाँ चलचित्र ‘डियर यु’, विकास रञ्जन मिश्र निर्देशित भारतीय चलचित्र ‘बयान’, जुलियन न्युहवास निर्देशित अस्ट्रेलियाली चलचित्र ‘मिस एन प्लेस’, जोल्जार्गल पुरेभ्दास निर्देशित अस्ट्रेलिया–मंगोलियाली चलचित्र ‘स्टेयर्स’, टम पाइजेट निर्देशित अमेरिकी चलचित्र ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोबर्ट पावेल’ र मेरिट एन्लान निर्देशित फ्रान्सेली चलचित्र ‘ला ग्राभिडा’ रहेका छन्।

त्यसैगरी जाङहाङ जुन निर्देशित कोरियाली चलचित्र ‘द किङ्स वार्डेन’, रीमा दास निर्देशित सिंगापुर–भारतीय चलचित्र ‘नट अ हिरो’, सर्वानो सदत निर्देशित जर्मनी–अफगानिस्तानको सहकार्यमा बनेको ‘नो गुड मेन’ तथा फ्रान्सिस फोर्ड कोपोलाको अमेरिकी चलचित्र ‘द गडफादर’ पनि प्रदर्शन गरिनेछ। समापन अवसरमा नेपाली, अमेरिकी, फ्रान्सेली र अस्ट्रेलियाली सहकार्यमा बनेको ‘प्राइभेट प्रपर्टी’ प्रदर्शन गर्ने कार्यक्रम छ। जापानको यामागाता युनेस्को रचनात्मक चलचित्र सहरबाट आएको लघु चलचित्र ‘भ्यू पिपुल, भ्यू सिटिज’ पनि महोत्सवमा देखाइनेछ।

काठमाडौं युनेस्को रचनात्मक सहर सञ्जालको सदस्य नगर हो। चलचित्रलाई समुदाय र शिक्षासँग जोड्दै सिर्जनात्मक उद्योगको प्रवद्र्धन गर्ने महानगरपालिकाको प्रयासअन्तर्गत महोत्सव आयोजना गरिएको हो। स्थानीय मौलिकता र पहिचानको संरक्षण गर्दै कलाकार, चलचित्रकर्मी, संघसंस्था तथा चलचित्र महोत्सव आयोजकबीच सहकार्य विस्तार गर्ने लक्ष्य महानगरपालिकाले लिएको छ।

यसअघि महानगरपालिकाले चलचित्र हेर्ने संस्कृतिको विकास तथा स्थानीय समुदाय, क्लब र संघसंस्थाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘टोलटोलमा फिल्म फेस्टिभल’ कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रमअन्तर्गत सुन्धारा, बागबजार, लगनटोल, खुलामञ्च, बालाजु बाइपास, यट्खा बहालस्थित भाष्करकीर्ति महाविहार तथा मैतीदेवी मन्दिरको खुला चौरलगायत स्थानमा चलचित्र प्रदर्शन गरिएको थियो।

महानगरपालिकाले काठमाडौंका सांस्कृतिक सम्पदा र स्थानीय कथालाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउने, नेपाली चलचित्र क्षेत्रको सम्भावना पहिचान गर्ने तथा विदेशी चलचित्रकर्मीसँग अनुभव आदानप्रदान गर्ने साझा मञ्चका रूपमा महोत्सवलाई विकास गर्ने अपेक्षा गरेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते शुक्रबार