काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।
गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिइएको निर्देशन पटक–पटक उल्लंघन गरेको र स्वीकृत विधानविपरीत गतिविधि गरेको भन्दै संस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनाअनुसार एनप्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशन पालना नगरेको पाइएको छ। त्यस्तै, संस्थाका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधिसमेत गरेको मन्त्रालयको ठहर छ।
मन्त्रालयले यसअघि नै सम्बन्धित सरोकारवाला पक्षलाई बोलाएर निर्देशन कार्यान्वयन गर्न आग्रह गरेको थियो। २०८३ असोज २३ गते सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न भनिएको थियो। तर, पटक–पटक आग्रह गर्दा पनि निर्देशन कार्यान्वयन नभएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’ सरकारको यो निर्णयसँगै एनप्याब्सनको संस्थागत गतिविधि अर्को निर्णय नभएसम्मका लागि रोकिएको छ।








