खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत रहेको विभागले इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक र अन्य सरोकारवालालाई जानकारी गराउँदै यस्तो सुझाव दिएको हो । विभागका अनुसार स्वस्थ वयस्कले समेत दैनिक दुई क्यानभन्दा बढी इनर्जी ड्रिङ्क्स सेवन गर्नु हुँदैन । हाल नेपालमा १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर यस्ता पेय पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन् ।
उत्पादनको लेबलमा उल्लेखित विवरण र प्रयोगशाला परीक्षण प्रतिवेदनका आधारमा नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्सको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन रहेको विभागले जनाएको छ । युरोपेली खाद्य सुरक्षा प्राधिकरण (EFSA) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (USFDA) लगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने कुल क्याफिनको मात्रा दैनिक ४०० मिलिग्रामसम्म हुन सक्ने वैज्ञानिक आधार प्रस्तुत गरेका छन् । विभागका अनुसार नेपाली उत्पादनमा रहेको क्याफिनको मात्रा उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम हो ।
विभागले इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध र मोहीजस्ता पौष्टिक पेय पदार्थको विकल्पका रूपमा नलिन पनि उपभोक्तालाई आग्रह गरेको छ । यस्ता पेय पदार्थलाई अन्य पेयमा मिसाएर सेवन नगर्नसमेत विभागको सुझाव छ । उत्पादक तथा विक्रेताले प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्रै विज्ञापन र प्रचारप्रसार गर्नुपर्ने विभागले जनाएको छ । साथै, उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी तथा सुरक्षित उपभोगसम्बन्धी जानकारी उपभोक्ताले स्पष्ट रूपमा बुझ्ने गरी राख्न पनि विभागले निर्देशन दिएको छ ।
खाद्य स्वच्छता र गुणस्तर कायम गर्ने उद्देश्यले वैज्ञानिक तथ्य तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी सूचना प्रवाह गर्न विभागले सरोकारवालालाई अनुरोध गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत काम गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।








