२०८३ कात्तिक १२ , बिहीबार

अर्नब चक्रवातको प्रभाव नेपालमा पनि, आजदेखि सतर्कता अपनाउन आग्रह



काठमाडौं। बंगालको खाडीबाट विकसित ‘अर्नब’ चक्रवातका कारण भारतका आन्ध्र प्रदेश र ओडिसाका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ।

चक्रवातको प्रभाव नेपालतर्फ पनि विस्तार हुन सक्ने अनुमानसँगै मौसमविद् तथा विपद् व्यवस्थापन निकायले देशभर सतर्कता अपनाउन आग्रह गरेका छन्। भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवात तटीय क्षेत्रमा प्रवेश गर्दा प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्मको वेगमा हावा चलेको थियो। यसको प्रभावका कारण भारतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको र ३० वटा घरमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ। त्यहाँका ७१४ गाउँ प्रत्यक्ष प्रभावित भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै चार हजार चक्रवात आश्रयस्थल तयार पारिएका छन्। ओडिसाका १६ जिल्लामा विद्यालय बन्द गरिएका छन् भने ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चक्रवातका कारण ५० वटा रेल सेवा र विजयवाडा तथा विशाखापट्टनम विमानस्थलबाट हुने २१ वटा उडान रद्द गरिएका छन्। प्रभावित क्षेत्रमा धानबाली डुबानमा परेको छ भने १६७ गाउँमा बाढीको उच्च चेतावनी जारी गरिएको छ। चक्रवात जमिनमा प्रवेश गरेपछि यसको गति कमजोर हुँदै गएको छ। मौसम अधिकारीहरूले यसको प्रभाव शुक्रबारसम्म रहन सक्ने बताएका छन्।

चक्रवातको बाहिरी घेराका बादल नेपालतर्फ सर्ने अनुमानसँगै देशका विभिन्न भागमा वर्षा तथा हिमपातको जोखिम बढेको छ। मौसमविद्हरूका अनुसार नेपाल आइपुग्दा चक्रवात कमजोर भएर न्यूनचापीय प्रणालीका रूपमा रहने सम्भावना छ। यद्यपि, यसको प्रभावले केही क्षेत्रमा भारी वर्षा र हिमपात गराउन सक्ने भएकाले सतर्कता आवश्यक रहेको उनीहरूको भनाइ छ।

मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभाव भारतका विभिन्न राज्य हुँदै नेपालको मौसम प्रणालीसँग पनि जोडिएको छ। अर्की मौसमविद् विभूति पोखरेलले भारतको विशाखापट्टनम क्षेत्रमा जमिनमा प्रवेश गरेको चक्रवात नेपालनजिक आइपुग्दा धेरै कमजोर हुने बताएकी छन्। तर, चक्रवातको सम्भावित मार्ग नेपालतर्फ देखिएकाले यसको प्रभावलाई गम्भीरतापूर्वक लिनुपर्ने मौसमविद्हरूको सुझाव छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख एवं विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बिहीबार रातिदेखि शनिबारसम्म देशभर उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनका अनुसार यसअघि असोज महिनामा पनि चक्रवातको सम्भावना देखिएपछि नेपालमा वर्षा भएको थियो। अहिलेको प्रणालीले भने केही स्थानमा त्यसबेलाभन्दा बढी वर्षा र हिमपात गराउन सक्ने अनुमान गरिएको छ। शुक्रबार र शनिबार यसको प्रभाव तुलनात्मक रूपमा बढी देखिन सक्ने बताइएको छ।

चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै लुम्बिनी प्रदेशका सात जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रदेश सरकारका अनुसार अर्घाखाँची, पाल्पा, कपिलवस्तु, प्युठान, रुकुमपूर्व, रोल्पा र नवलपरासी पश्चिममा बढी जोखिम हुन सक्ने अनुमान छ। लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कात्तिक १३ र १४ गते विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले किसानलाई धानबाली काट्ने र भित्र्याउने काम समयमै सम्पन्न गर्न अनुरोध गरेको छ। नदी तथा खोलानजिक बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन र स्थानीय सुरक्षा निकायलाई उद्धारका लागि तयारी अवस्थामा रहनसमेत भनिएको छ। सम्भावित वर्षाका कारण नदीमा पानीको सतह बढ्ने, बाढी आउने तथा पहाडी क्षेत्रमा पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासनले आवश्यक तयारी गर्नुपर्नेमा जोड दिइएको छ।

पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ। मौसम पूर्वानुमानअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारी वर्षा हुन सक्नेछ। यसबाट बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमआँधी आउन सक्ने सम्भावना छ। विभागले खुम्बु र मनाङलगायतका हिमाली क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा काठमाडौं र पोखराका स्वास्थ्य संस्थामा लेक लाग्ने समस्याको उपचार सेवा सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

मौसम पूर्वानुमानअनुसार बिहीबार रातिदेखि उच्च हिमाली क्षेत्रमा हिमपात र अन्य स्थानमा वर्षा हुन सक्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। मौसम प्रतिकूल हुन सक्ने भएकाले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको बहाव बढेको अवस्थामा किनारमा नजान र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित निकायले जारी गर्ने आधिकारिक मौसम बुलेटिन तथा विपद्सम्बन्धी सूचनालाई नियमित रूपमा हेर्न र त्यसअनुसार आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बिहीबार