२०८३ मंसिर १२ , शनिबार
दशौँ राष्ट्रिय खेलकुद २०८३

पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकीलाई पहिलो जित

१२६ रनको लक्ष्य गण्डकीले १४.३ ओभरमै पूरा गर्‍यो, ईश्वर र वंशको महत्वपूर्ण ब्याटिङ


समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई ५ विकेटले हराउँदै पहिलो जित निकालेको छ। ईश्वर क्षेत्रीले ३२ र वंश क्षेत्रीले अविजित २९ रन बनाए।

सुर्खेत — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जित हात पारेको छ। कालुन्चोक मैदानमा शनिबार बिहान भएको पहिलो खेलमा गण्डकीले एनआरएनए (NRNA) लाई ५ विकेटले हराउँदै महत्वपूर्ण २ अंक जोडेको हो।टस जितेर बलिङ रोजेको गण्डकीविरुद्ध पहिला ब्याटिङ गर्दै एनआरएनएले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो। एनआरएनएका लागि पवन खरेलले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए। त्यस्तै नविन तामाङले २३ बलमा २६ रन र आदित्य महताले १४ बलमा २३ रन जोडे। अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्। कप्तान कमलसिंह ऐरी ७ रनमा आउट भए भने विकेटकिपर निर्भिक पाठक ५ रनमा अविजित रहे।

१२६ रनको लक्ष्य पछ्याएको गण्डकीले १४.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। गण्डकीका लागि ईश्वर क्षेत्रीले २७ बलमा २ चौका र ३ छक्कासहित ३२ रन बनाए। त्यस्तै अविजित रहेका वंश क्षेत्रीले २७ बलमा ३ चौकासहित २९ रनको महत्वपूर्ण पारी खेले। सिब्रिन श्रेष्ठले १३ बलमा २४ रन र सन्दीप खत्री क्षेत्रीले ९ बलमा १४ रन जोड्दै गण्डकीको जितलाई सहज बनाए। रोहित चन्द १ रनमा अविजित रहे।

गण्डकी प्रदेश यसअघि समूह चरणको पहिलो खेलमा मधेश प्रदेशसँग ७ विकेटले पराजित भएको थियो।

 

प्रकाशित मिति : २०८३ मंसिर १२ गते शनिबार