सुर्खेत । कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न खेलका प्रतिस्पर्धा जारी छन् । प्रतियोगिताको चौथो दिन शुक्रबार क्रिकेट, फुटबल र बास्केटबलका प्रतिस्पर्धा भएका छन् । महिला क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेका छन् । पुरुष क्रिकेटमा एपीएफ र मधेश प्रदेश विजयी हुँदा विभागीय टोली नेपाल पुलिस क्लबले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ भने कोशी प्रदेशले लुम्बिनीलाई पराजित गरेको छ । महिला बास्केटबलका दुई विधामा गरी आठ टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । यसैबीच, राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको छ भने रुकुमपश्चिमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन भएको छ ।
महिला क्रिकेटमा आर्मी र एपीएफ सेमिफाइनलमा
महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लबले आयोजक कर्णाली प्रदेशलाई ९७ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।
आर्मीका लागि सम्झना खड्काले ५८ बलमा ६२ रन बनाइन् । १३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो । कर्णालीका जयन्ती चन्दले सर्वाधिक १० रन बनाइन् । आर्मीकी मनिषा उपाध्यायले चार तथा यमुना थारुले तीन विकेट लिइन् । सम्झना खड्का प्लेयर अफ द म्याच घोषित भइन् । लगातार दोस्रो हारसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै, एपीएफ क्लबले मधेश प्रदेशलाई ८० रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको एपीएफले ६ विकेट गुमाएर १४३ रन बनाएको थियो । उसका लागि इन्दु बर्माले ५६ र रोमा थापाले अविजित ४४ रन बनाइन् । १४४ रनको लक्ष्य पछ्याएको मधेशले सात विकेट गुमाएर ६३ रन मात्रै बनाउन सक्यो । एपीएफका सुमन विष्ट र राजमती ऐरीले दुई–दुई विकेट लिए ।
पुरुष फुटबलमा आर्मीको लगातार दोस्रो जित
पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २–० गोलले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६४औँ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । अतिरिक्त समयमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ९७औँ मिनेटमा दोस्रो गोल गरेपछि आर्मीको जित सुनिश्चित भयो ।
यसअघि लुम्बिनीलाई पराजित गरेको आर्मीले बागमतीलाई पनि हराउँदै ६ अंक जोडेको छ । पहिलो खेलमा कोशीसँग बराबरी गरेको बागमतीको भने एक अंक छ । अर्को खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोलले पराजित गरेको छ । कोशीका मिलन राईले १२औँ र ३२औँ मिनेटमा दुई गोल गरे भने अमित सन सतारले १४औँ र सौरभ लिम्बुले ६४औँ मिनेटमा गोल गरे । लुम्बिनीका फागुराम चौधरीले ५९औँ मिनेटमा एक गोल फर्काए ।
खेलको ५८औँ मिनेटमा कोशीका प्रकाश भुजेल रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि कोशी १० खेलाडीमा सीमित भएको थियो । रातो कार्डका कारण भुजेलले आगामी एक खेल गुमाउनेछन् । लुम्बिनीका फागुराम चौधरीले लगातार दुई खेलमा पहेँलो कार्ड पाएपछि एक खेलको प्रतिबन्धमा परेका छन् । पहिलो खेलमा बागमतीसँग बराबरी खेलेको कोशीले लुम्बिनीलाई हराउँदै चार अंक जोडेको छ । त्रिभुवन आर्मीसँग पहिलो खेल हारेको लुम्बिनी दोस्रो हारपछि अंकविहीन छ ।
पुरुष क्रिकेटमा एपीएफको विजयी सुरुवात
पुरुष क्रिकेटमा एपीएफ क्लबले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कालुन्चोक मैदानमा पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५४ रन बनाएको थियो ।
एपीएफका दीपक बोहराले ४४ बलमा ५७ रन बनाए । सुमित महर्जनले २८ र अमर सिंह रौतेलाले १६ रनको योगदान दिए । १५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा नौ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो । कोशीका अंकित सुवेदीले ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । एपीएफका अमर सिंह रौतेलाले तीन तथा अभिनाश बीले दुई विकेट लिए ।
मधेशसँग पुलिस २९ रनले पराजित
पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब मधेश प्रदेशसँग २९ रनले पराजित भएको छ । शुक्रबार कालुन्चोक मैदानमा भएको प्रतियोगिताको चौथो खेलमा मधेशसँग हार व्यहोर्दै पुलिसले प्रतियोगिताको सुरुवात गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको पुलिसविरुद्ध मधेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६६ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो ।
मधेशका लागि सन्तोष कार्कीले ४२ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ६० रन बनाए । विवेककुमार यादवले आक्रामक ब्याटिङ गर्दै १६ बलमा चार छक्का र एक चौकासहित अविजित ३७ रन जोडे । त्यस्तै पवन सर्राफले २१ बलमा अविजित २३ र मयन यादवले १९ रन बनाए । मधेशले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा लक्ष्य भेट्टाउन सकेन । पुलिसका राशिद खानले २९ बलमा तीन चौका र तीन छक्कासहित ४१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
ओपनर अमित श्रेष्ठ ६ र शंकर राना नौ रनमा आउट भएपछि दबाबमा परेको पुलिसका लागि दिलिप नाथले १४, श्रवण यादवले १६, चन्द्रकान्त पौडेलले १९ र सागर ढकालले १० रन बनाए । पुलिसका बलर अरनिकोप्रसाद यादवले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिए । रुपेशकुमार सिंह र अभिषेक तिवारीले समान दुई–दुई विकेट हात पारे ।
महिला बास्केटबलका आठ टोली सेमिफाइनलमा
१०औँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलका दुई विधामा गरी आठ टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । फूल कोर्ट (५×५) तर्फ चार र थ्री एक्स थ्री (३×३) तर्फ चार गरी आठ टोली सेमिफाइनलमा पुगेका हुन् । राष्ट्रिय सिनियर रेफ्री राजेश महर्जनका अनुसार फूल कोर्टतर्फ एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै थ्री एक्स थ्रीतर्फ नेपाल आर्मी, बागमती प्रदेश, एपीएफ क्लब र कर्णाली प्रदेशले अन्तिम चारमा स्थान बनाएका छन् ।
शुक्रबार भएका फूल कोर्टतर्फका क्वार्टरफाइनल खेलमा एपीएफले गण्डकी प्रदेशलाई ७९–१२ अंकले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेशले लुम्बिनीलाई ३९–१६ अंकले हराउँदा नेपाल पुलिसले कोशी प्रदेशलाई ५५–४० र नेपाल आर्मीले बागमती प्रदेशलाई ६७–२० अंकले पराजित गरेका छन् ।
त्यस्तै थ्री एक्स थ्रीतर्फ त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई १९–६ अंकले पराजित गरेको छ । बागमती प्रदेशले लुम्बिनीलाई १४–१०, एपीएफले सुदूरपश्चिमलाई १३–७ र कर्णाली प्रदेशले नेपाल पुलिसलाई १७–८ अंकले हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन् । यसअघि बिहीबार भएका खेलबाट फूल कोर्टतर्फ गण्डकी, लुम्बिनी, कोशी र बागमती तथा थ्री एक्स थ्रीतर्फ गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र नेपाल पुलिस प्रतियोगिताबाट बाहिरिएका थिए ।
दैलेखबाट ओलम्पिक टर्चसहित ट्रफी टुर सुरु
१०औँ राष्ट्रिय खेलकुदको प्रचारप्रसार र खेलकुदको माहोल सिर्जना गर्ने उद्देश्यले ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको छ । शुक्रबार दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी टुरको शुभारम्भ गरिएको हो ।
वीरेन्द्रनगरस्थित मुख्य खेलस्थलबाट कर्णालीका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव रविन्द्र चन्दले टर्च तथा ट्रफी टुर टोलीलाई बिदाइ गरेका थिए ।
श्रीस्थानको ज्वालाबाट प्रज्वलित टर्च खेलकुद परिषद्का सदस्यसचिव रविन्द्र चन्दले म्याराथन धावक हरिबहादुर रोकायालाई हस्तान्तरण गरेका थिए । दैलेखबाट सुरु भएको टुर कालिकोट हुँदै जुम्ला पुग्नेछ । टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाय, ओलम्पियन देबु थापा र कराते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत सहभागी छन् । जुम्लामा अल्ट्रा धाविका सुनमाया बुढा पनि टोलीमा सहभागी हुने कार्यक्रम छ ।
चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सुरु
१०औँ राष्ट्रिय खेलकुदअन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सुरु भएको छ । शुक्रबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री मिलन खड्काले चौरजहारी नगरपालिका–२ स्थित कभर्डहलमा प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा महिला तथा पुरुष गरी १०४ खेलाडी सहभागी छन् । उद्घाटन कार्यक्रममा मन्त्री खड्काले राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता कर्णालीमा सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । यसले कर्णालीको खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउन सहयोग पुग्ने उनको भनाइ थियो ।


