- दशौँ राष्ट्रिय खेलकुदको शारीरिक सुगठन विधामा पुरुष तथा महिलाका विभिन्न स्पर्धा सम्पन्न भएका छन्। आर्मी, प्रहरी, एपीएफ र बागमतीका खेलाडीले पदक जिते।

सुर्खेत — दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठन विधातर्फ पदक दिनका विभिन्न खेलहरू सम्पन्न भएका छन्। मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार विभिन्न विधामा प्रतिस्पर्धा भएका हुन्।
पुरुषतर्फ एमएपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सुमन राईले स्वर्ण पदक प्राप्त गरेका छन्। बागमतीका सबिन चौलागाईंले रजत र लुम्बिनीका रेशम रानाले काँस्य पदक हात पारे।

त्यस्तैगरी एमएपी (१७० भन्दा माथि) विधामा सशस्त्र प्रहरी बल (एपीएफ) का अनुपविक्रम बिष्टले स्वर्ण पदक हासिल गर्दा लुम्बिनीका ईश्वर पुनले रजत र गण्डकीका यमन्त गुरुङले काँस्य पदक प्राप्त गरे। एमएसपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सृजन महर्जनले स्वर्ण पदक, त्रिभुवन आर्मी क्लबका ज्ञानेश्वर चौधरीले रजत र बागमतीका राज शाहीले काँस्य पदक प्राप्त गरे।
यस्तै एमएसपी (१७० भन्दा माथि) विधामा त्रिभुवन आर्मीका पुकार शाक्यले स्वर्ण पदक, नेपाल प्रहरीका प्रनेश श्रेष्ठले रजत र बागमतीका रिजनकुमार श्रेष्ठले काँस्य पदक जिते। मेन्स क्लासिक बडीबिल्डिङ विधामा त्रिभुवन आर्मीका अनिश रसाइलीले स्वर्ण, लुम्बिनीका बिजेन्द्रमान श्रेष्ठले रजत र मधेशका हरिनारायण साहले काँस्य पदक प्राप्त गरे।
महिलातर्फ डब्लुएपी विधामा बागमतीकी उर्मिला श्रेष्ठले स्वर्ण, त्रिभुवन आर्मीकी सृजना घिसिङले रजत र गण्डकीकी आशा चौधरीले काँस्य पदक प्राप्त गरिन्। त्यस्तै वुमेन्स वेलनेस (१७० भन्दा कम) विधामा त्रिभुवन आर्मीकी शिवानी लामाले स्वर्ण पदक हासिल गरिन् भने गण्डकीकी बिपना कुमालले रजत र लुम्बिनीकी पुनम सुनारले काँस्य पदक जिते।



