- १० औं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा गण्डकीलाई हराउँदै रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनलमा पुगेको छ। अनु कडायतको उत्कृष्ट पारीसँगै अन्तिम चारको समीकरण पूरा भयो।
सुर्खेत — १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको हो।
सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई–दुई अंक प्राप्त गरेका भए पनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११७ रन बनाएको थियो। गण्डकीका लागि सिमाना केसीले ३४ बलमा ३ चौकासहित सर्वाधिक ४० रनको योगदान दिइन्। यस्तै सम्झना पौडेलले नटआउट ३८ रन जोडिन्। ओपनर दिपिका सापकोटा शून्य रनमा आउट हुँदा श्रेया शाहले १५ रन बनाइन्। रेखा तामाङ ४ रनमा आउट भइन् भने चन्द्रमाया बराल र कुशुम गोदारले समान एक–एक रन थपे।
बलिङतर्फ सुदूरपश्चिमकी स्नेहा महराले २ विकेट लिइन्। अनु कडायत, करिष्मा थापा र यशु पाण्डेले समान एक–एक विकेट लिए।
११८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमलाई जिताउन अनु कडायतले महत्वपूर्ण पारी खेलिन्। ३३ बलको सामना गरेकी अनुले २ छक्का र ७ चौका प्रहार गरिन्। मनिषा बोहराले २५ रन बनाउँदा यशु पाण्डेले ११, ऋतु कनौजीयाले ८, स्नेहा महराले २ र ममता बोहराले १ रन जोडिन्।
गण्डकीको बलिङमा दिपिका सापकोटाले ४ विकेट लिइन् भने चन्द्रमाया बरालले १ विकेट हात पारिन्।







