१) मुक्तक
लगाई नयाँ कोट, चुनावको बेला
माग्न पुग्यो भोट, चुनावको बेला,
अर्को पटक फेरि जनता फुस्ल्याउन,
उडायो थुप्रै नोट, चुनावको बेला।
२) मुक्तक
चेहरा सुन्दर हुँदैमा कोही रानी हुँदैन
दुईचार अक्षर लेख्दैमा कहानी हुँदैन।
सहयोग गर्ने भए निस्वार्थ मनले गरौं,
लोकप्रिय बन्न दान दिने दानी हुँदैन।
३) मुक्तक
सुनें ऊ यसपटक फेरि फेल भयो।
यो कस्तो अच्चमलाग्दो खेल भयो।
सत्यवादी र भलादमी थियो विचरा,
तथापि उसैलाई चुनेर जेल भयो।
४) मुक्तक
उमङ्ग, उत्साह र जोश पनि छ नि,
नौलो काम गर्ने होस पनि छ नि,
भद्रता मात्र कहाँ छ मसँग हजुर?
नम्रतासँगै बोलीमा ठोस पनि छ नि।
५) मुक्तक
परचक्रीसँग भयो मेरो जब चिनाजानी।
सम्झाउनीबिर्साउनीमा बढ्यो खिचातानी।
अनि बल्लतल्ल चित्तलाई विदित भयो,
आरोहअवरोहमा रचिएछ यो जिन्दगानी।
६) मुक्तक
अरुणोदयको लाली व्योममा हेर्न मन छ।
मुमाको गाली सुधा ठानी जिउमा बेर्न मन छ।
देवालयको सुरले मेरो अभिरुचि पूर्ण गरून्,
मर्त्यलोकको खालि मुखाकार फेर्न मन छ।
-विश्वजीत गुप्ता








