२०८३ कात्तिक २१ , शनिबार
फ्रन्ट पेज

सुर्खेतमा युवाको फूल खेती फस्टाउँदै, बजारमा माग धान्नै मुस्किल

दुई कठ्ठादेखि २६ रोपनीसम्म फैलिएको पुष्प खेतीले युवालाई कृषिमा आकर्षित गर्दै, तिहारको रौनकसँगै सुर्खेतका फूल देशका विभिन्न सहरमा पुग्न थाले।


सुर्खेत । तिहार नजिकिँदै गर्दा बजारमा फूलको रौनक बढेको छ । घरआँगन सजाउन होस् वा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला बनाउन, तिहारमा फूलको माग विशेष हुन्छ । यही मौसमी मागलाई अवसरमा बदल्दै मध्यमपश्चिम विश्वविद्यालय ग्य्राजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फेरस्ट्रीमा अध्ययनरत समेत रहेका सुर्खेतका केही युवाहरूले व्यावसायिक पुष्प खेतीमा जुटेका छन् । उनीहरूले उत्पादन गरेका फूल बजारमा पुग्न नपाउँदै माग बढ्न थालेको छ । अवस्था यस्तो छ कि उत्पादनभन्दा माग बढी हुन थालेपछि किसानलाई फूलको माग धान्नै मुस्किल परेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ मा रहेको बसन्त अर्गानिक कृषि तथा पशुपन्छी फर्मका सञ्चालक जीवन गिरीले यस वर्षको तिहारलाई लक्षित गरी दुई कठ्ठा जग्गामा फूल खेती गरेका छन् । पुष्प खेती उनको पहिलो अनुभव हो । नयाँ व्यवसाय भएकाले उनले सुरुमा ठूलो क्षेत्रफलमा खेती गर्ने जोखिम लिएनन् । तर, थोरै क्षेत्रफलमा उत्पादन गरेको फूलप्रति बजारको आकर्षण देखेपछि उनी उत्साहित छन् । पहिलो वर्षमै उत्पादन भएको फूलको माग अपेक्षाभन्दा बढी आएको गिरी बताउँछन् । यसले पुष्प खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन सकिने सम्भावना देखाएको छ ।

त्यस्तै, सुर्खेतकै भेरीगंगा नगरपालिका–११, सादिखोलामा समिर केसीले बायो ग्रिन एग्रोमार्फत २६ रोपनी जग्गामा पुष्प खेती गरेका छन् । तिहार नजिकिँदै जाँदा उनको उत्पादनप्रति पनि बजारको चासो बढेको छ। फूलको माग दिनप्रतिदिन बढिरहेको केसी बताउँछन् । कर्णाली एग्रो फर्मका सञ्चालक विनोद शर्माले पनि एक बिघा क्षेत्रफलमा फूल खेती गरेका छन् । सुर्खेतमा पछिल्लो समय युवाहरूले व्यावसायिक रूपमा फूल खेती गर्न थालेसँगै जिल्लामा पुष्प उत्पादनको दायरा विस्तार हुँदै गएको छ ।

यी किसानका अनुसार अहिले फूल प्रतिकेजी तीन सय रुपैयाँमा बिक्री भइरहेको छ । एउटा फूलको मालाको मूल्य एक सय रुपैयाँभन्दा माथि पर्ने गरेको छ । तिहार नजिकिँदै जाँदा फूल तथा मालाको माग दैनिक रूपमा बढिरहेको उनीहरूको भनाइ छ । सुर्खेतमा उत्पादित फूल स्थानीय बजारमा मात्र सीमित छैनन्, देशका विभिन्न सहरसम्म पुग्न थालेका बसन्त अर्गानिक कृषि तथा पशुपन्छी फर्मका सञ्चालक जीवन गिरीले जानकारी दिए ।

आम्दानीको नयाँ आधार

नेपाली समाजमा फूल केवल सजावटको वस्तु होइन, यो आस्था, संस्कृति र परम्परासँग जोडिएको छ । विशेषगरी तिहारमा सयपत्री र मखमली फूलको महत्व छुट्टै छ । घरको ढोकादेखि पूजाकोठासम्म फूलले सजाइन्छ। दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै दिदीबहिनीले लगाइदिने माला पनि तिहारको सांस्कृतिक पहिचान हो । यही सांस्कृतिक महत्वका कारण तिहारमा फूलको माग उच्च हुने गर्छ । विवाह, व्रतबन्ध, पूजाआजा, विभिन्न धार्मिक तथा सामाजिक समारोहमा पनि फूलको प्रयोग बढ्दो छ । यसले पुष्प खेतीलाई मौसमी आम्दानीको माध्यम मात्र नभई वर्षभरि सम्भावना बोकेको व्यवसायका रूपमा स्थापित गर्दै लगेको छ । सुर्खेतका युवाहरूले सुरु गरेको पुष्प खेती यसै सम्भावनाको एउटा उदाहरण हो । थोरै जग्गाबाट सुरु गरिएको खेतीले समेत बजारमा माग सिर्जना गर्न थालेपछि स्थानीय स्तरमा पुष्प व्यवसाय विस्तारको सम्भावना देखिएको छ ।

निर्यातभन्दा आयात २२ गुणा बढी

फ्लोरिकल्चर एशोसिएसन नेपालका अुसार नेपालमा पुष्प व्यवसायको विस्तार र कारोबार वृद्धि भइरहे पनि यस क्षेत्रको एउटा प्रमुख चुनौती आयातमा निर्भरता हो । आन्तरिक उत्पादनले बजारको माग पूर्ण रूपमा धान्न नसक्दा पुष्प तथा पुष्पजन्य वस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । भन्सार विभागको आर्थिक वर्ष २०८२/०८३ को तथ्याङ्कअनुसार नेपालबाट पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार एक करोड १५ लाख ७८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष निर्यात ४५.७९ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा दुई करोड १३ लाख ६० हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

नेपालबाट मुख्य रूपमा बल्ब, राइजम, जीवित बिरुवा, ड्राइ फ्लावर तथा कट फ्लावर अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा र भुटानलगायतका देशमा निर्यात हुँदै आएका छन् । तर, आयातको अवस्था भने निर्यातको तुलनामा निकै ठूलो छ। आर्थिक वर्ष २०८२/०८३ मा पुष्प तथा पुष्पजन्य वस्तुको आयात कारोबार २६ करोड १३ लाख ७२ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०५.६६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा १२ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।

नेपालमा मुख्य रूपमा जीवित बिरुवा, अनरुटेट कटिङ तथा स्लिप, विभिन्न फूलका बीउबिजन, ताजा कट फ्लावर, बल्ब, ट्युबर र ट्युबर रुट्स आयात हुने गरेका छन्।
भारत, नेदरल्यान्ड्स, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्ड, भियतनाम, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, यूएई, ताइवान र इजरायललगायतका देशबाट नेपालमा पुष्प तथा पुष्पजन्य सामग्री आयात हुने गरेको छ। आयात–निर्यातको वार्षिक तथ्याङ्क हेर्दा नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको आयात निर्यातभन्दा करिब २२ गुणा बढी छ। यसले नेपाली पुष्प उद्योग अझै पनि आयातमुखी रहेको स्पष्ट पार्छ । विशेषगरी फूलका बीउबिजन, मदर प्लान्ट तथा कट फ्लावरमा विदेशी निर्भरता उच्च छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शनिबार