२०८३ कात्तिक २० , शुक्रबार

सुदूरपश्चिमको आक्रामक ब्याटिङ, कर्णालीलाई १७७ रनको लक्ष्य



 काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले कर्णाली याक्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो । सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा ४ चौका र एक छक्का प्रहार गरे । त्यस्तै विनोद भण्डारीले २२ बलमा २ चौका र २ छक्काको मद्दतमा २७ रन जोडे ।

जैब र भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । तर, आठौं ओभरमा विनोद र नवौं ओभरमा जैब आउट भएपछि सुदूरपश्चिमले नियमित अन्तरमा विकेट गुमाउन पुग्यो । ब्राण्डन म्याकमुलेनले १६ बलमा २४ रन बनाउँदा इशान पाण्डेले १३ बलमा तीन छक्कासहित २३ रनको योगदान दिए । कप्तान दीपेन्द्रसिंह ऐरीले १० र आरिफ शेखले ११ रन बनाए ।

अन्तिम ओभरहरूमा थरिन्दु रत्नायकेले आक्रामक ब्याटिङ गरे । उनले १२ बलमा ३ चौका र एक छक्कासहित अविजित २२ रन बनाए । स्कट कुगेलेइनले पनि ६ बलमा दुई चौका प्रहार गर्दै अविजित १३ रन जोडे ।

सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा ५७ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । कर्णालीका लागि मार्क वाटले सर्वाधिक दुई विकेट लिए । नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक विकेट हात पारे । अब १७७ रनको लक्ष्य पछ्याउँदै कर्णाली याक्सले जवाफी ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार