२०८३ कात्तिक २० , शुक्रबार

वडाध्यक्ष बन्ने मान्छे नपाएपछि रविको व्यंग्य, ‘अब म आफैं लड्न आउँला’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थानीय तह निर्वाचनमा वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार बन्न पार्टीका नेता–कार्यकर्ताको रुचि कम देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टीले स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरे पनि वडाध्यक्ष र वडा सदस्यमा अपेक्षाअनुसार आवेदन नआएको उनको भनाइ छ । रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका र असोज २८ गतेदेखि नगरपालिकामा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदन मागेको थियो । तर, हालसम्म प्राप्त आवेदनमा गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुख पदमा बढी आकर्षण देखिएको छ ।

शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले वडाध्यक्ष पदमा उम्मेदवार बन्न कसैले इच्छा नदेखाएको भन्दै व्यंग्य गरेका थिए ।‘हाम्रो समस्या छ यहाँ । वडाध्यक्ष उठ्न त म आफैंले राजीनामा दिएर उठ्नुपर्ने जस्तो छ । हाम्रा साथीहरूले वडाध्यक्ष हेर्दैनन् अहिले । एकैचोटि पालिका हेर्ने हो,’ उनले भने ।

वडाध्यक्ष पदमा उम्मेदवारी दिन आफू नै राजीनामा दिएर आउनुपर्ने अवस्था देखिएको भन्दै उनले भने, ‘मै आउँला अब राजीनामा दिएर चुनाव लड्न । तपाईंहरू त धेरै ठूलो हुन थाल्नुभयो । वडाध्यक्षमा आवेदन दिएको मैले देखिनँ ।’ लामिछानेले प्रमुख र अध्यक्षजस्ता पदमा मात्रै आवेदन दिनुले कार्यकर्तामा अवसरमुखी राजनीति बढेको संकेत गर्ने बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई अवसरको पछि लाग्नुभन्दा निष्ठाको राजनीति गर्न आग्रह गरे ।

उनले विगतमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले कठिन परिस्थितिमा पनि निष्ठाका साथ राजनीति गरेको उदाहरण दिँदै त्यसबाट सिक्नुपर्ने बताए । पञ्चायतकालका ३० वर्षमा कांग्रेसका नेता तथा कार्यकर्ताले पद र अवसरको अपेक्षा नगरी राजनीति गरेको उल्लेख गर्दै लामिछानेले कार्यकर्तालाई त्यस्तो राजनीतिक संस्कार अपनाउन सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार